सप्तरी – लगातारको वर्षाका कारणले सप्तरीको गोबर गाढाका झण्डै आठ सय परिवार डुबानमा परेका छन् । लगातारको वर्षा पछि विभिन्न खोलामा आएको बाढीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबर गाढाका आठ सय परिवार डुबानमा परेको वडाध्यक्ष बिन्देश्वरी यादवले जानकारी दिनुभयो । बाढीका कारण त्यहाँका प्रत्येक घरमा करिब ५ – ६ फिटसम्म पानी जमेको छ ।
लगातारको वर्षाका कारण गोबर गाढाबाट ६१ परिवार ज्यान जोगाउन हनुमान नगरको बाँधमा आएर बसिरहेका छन् । ६१ बाढी पीडित परिवारलाई हनुमान नगनर कंकालिनी नगरपालिकाको सहयोगमा वडा कार्यालयले चिउरा, भुजा ,त्रिपाल, नुन, चाउचाउ, खाने तेललगायतका सामग्रीहरु वितरण गरेको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो ।
गोबरगाढा बासीहरु बर्सेनि बाढीको चपेटामा पर्दै आएका छन्, तर पनि यहाँका स्थानीयको सुरक्षित बसोबासका लागि अहिले सम्म कसैले पनि चासो नदेखाएकको वडाध्यक्ष यादवले आरोप लागाउनु भयो । बाढीकै कारण हनुमान नगर कंकालिनी नगरपालिका – ११ इनरुवाका १५ परिवार विस्थापित भएका छन् । कयौँ बिगाहा खेतीयोग्य जमिन डुबानमा परेकाले स्थानीय कृषकहरु थप समस्यामा परेको वडाध्यक्ष मोही यादवले जानकारी दिनुभयो ।
त्यस्तै, जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा करिब एक हजार घर तथा गाउँपालिका कार्यालय समेत डुबानमा परेको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार तिलाठी कोइलाडी गाउँ पूरै डुबानमा परेको छ । अविरल वर्षापछि खाडो खोलामा आएको बाढीले गाउँ डुबेको हो । डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागिरहेका छन् ।
