सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको जेनेरेटरमा खराबी आउँदा आज दिउसोदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् सेवा सञ्चालन भइरहेका बेला एकाएक जेनेरेटरमा खराबी आएपछि विद्युत् सेवा अवरुद्ध भएको केन्द्रका व्यवस्थापक दयाराम पण्डितले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेसिनमा रहेका तार जलेपछि सेवा अवरुद्ध भएको हो । पावरहासउमा रहेको उक्त मेसिन बनाउनका लागि भारतबाट दक्ष मिस्त्री ल्याउनुपर्ने हुँदा विद्युत् सेवा नियमित गर्नेबारेमा केही भन्न नसकिने व्यवस्थापक पण्डितले बताउनुभयो ।
विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयवासी, सरकारी तथा गैरसरकारी संस्थाका दैनिक काममा अप्ठ्यारो भएको जनाइएको छ । मार्तडीमा सञ्चालन हुँदै आएका दुई वटा रेडियो र अन्य पत्रपत्रिका सञ्चालनमा समेत बाधा पुगेको छ । विद्युत् सेवा बन्द भएपछि एक हजार बढी ग्राहक प्रभावित भएका छन् ।
