Site icon Tukinetwork.com

झापामा ३० लाख खर्च गरेर गरिएको कालोपत्रे १२ घण्टामा चट् !

बिर्तामोड , बिर्तामोडस्थित नयाँ बसपार्कमा गरिएको कालोपत्रे असारे पानीले बगाएको छ । अर्जुनधारा –११ स्थित नयाँ बसपार्कमा असारको अन्तिम साता गरिएको कालोपत्रे असारे पानीले बगाएसँगै सडक हिलाम्मे छ ।असारे पानीले कालोपत्रे गरिएको सडक भत्काएर हिलाम्मे भएपछि उपभोक्ता समितिले रकमसमेत रोकेको छ । समितिका अध्यक्ष धनराज योङ्हाङले भने –निर्माण व्यवसायी भीमचन्द्र भट्टराईजीले कालोपत्रे गराउनु भएको भोलिपल्टै भत्किएर सडकको यो हाल भयो ।सडक डिभिजन कार्यालय दमकले रोडबोड शीर्षकमा प्रदान गरेको ३० लाख रुपैयाँले कालोपत्रेको सम्झौता गरिएको बताइएको छ ।

जसमा उपभोक्ता समितिले पाँच लाख रुपैयाँ रोकेको बताइएको छ ।त्यस्तै गुणस्तरीय काम नभएपछि नगरपालिकाका प्रशासकीय अधिकृत पशुपति खतिवडाले समेत एक लाख रुपैयाँ रोकेको अध्यक्ष योङ्हाङले बताए । उनले भने –३० लाखको ठेक्का भएपनि २४ लाख रुपैयाँ भट्टराईजीले लगिसक्नु भयो तर सडकको हालत भने बेहाल छ ।बसपार्कमा कालोपत्रे गर्दा पानी परेको स्थानीय बताउँछन् । पानी पर्दापर्दै कालोपत्रे गरिएकै कारण सडक भत्किएको स्थानीयको आरोप छ । रातको समयमा कालोपत्रे गरिएको र कालोपत्रे गरेकै रात सडकमा पानी जमेको बताइएको छ ।

समितिका सचिव हरि भण्डारीका अनुसार सडक कालोपत्रे तीन चरणमा गरिएको र पहिलो चरणमा गरिएको कालोपत्रे केही राम्रो भए पनि दोस्रो र तेस्रो चरणमा गरिएको कालोपत्र भत्किएर सडक मै आहाल बनेको छ ।कालोपत्रे गरेको भोलिपल्टै सडक भत्किएपछि ठेकदारलाई रकम रोकेको र घामलागेपछि पुनः सडक कालोपत्रे गरेपछि मात्रै रकम प्रदान गर्ने सहमति भएको भण्डारीले बताए ।समितिका अध्यक्ष योङ्हाङले आफूहरुले पटकपटक गुणस्तरीय काम गर्न आग्रह गरेपनि त्यो नभएरे पैसा रोकेको बताए । योङ्हाङ भन्छन् – हामी प्राविधिक कुरा जान्दैनौं, मेट्रियलको मात्रा नमिल्दा सडक भत्किएको हुनसक्छ ।

निर्माण ठेकेदारले सडक कालोपत्रेका लागि आवश्यक सामान दुर्गापुरबाट ल्याउने गरेको र त्यसको गुणस्तरीयता हेर्ने आफूसँग प्राविधिक ज्ञान नभएकोले बनाएको सडक बिग्रियो ।स्थानीय माधव खतिवडाका अनुसार सडकको पूर्व र पश्चिम अनि अर्पित होटल अगाडि कालोपत्रे गरिएको सडकमा पानी जमेर ठूलाठूला खाल्डा बनेका छन् । कालोपत्रे गर्ने सबै सामग्रीको मिश्रणमा एकरुपता नहुँदा कालोपत्रे भत्किएर सडकमा खाल्डा परेको खतिवडा बताउँछन् ।अलकत्रा नै कमसल भएका कारणले कालोपत्रे गरिएको सडक भत्किएको पूर्व जनप्रतिनिधि गोपी गिरी बताउँछन् ।स्थानीयका अनुसार सिल्कन गिट्टी राम्रो नभएकाले बिटुमिनले काम नगर्दा सडक उक्किएको हो ।

असारको तेस्रो साता अलकत्रा लगाउने काम भएको र असार २७ देखि सडकमा पानी जमेकाले बाटो भत्किएको स्थानीय भोला उप्रेती बताउँछन् । उनी भन्छन् –सडकमा अलकत्रा नै राति लगाइयो । त्यही रात पानी परेकाले अलकत्रा उक्किएर सकडमा खाल्डा परेका हुन् ।यता निर्माण कम्पनीका ठेकेदार भट्टराईलाई यस विषयमा जानकारी लिन खोज्दा उनको मोबाइल स्वीचअफ थियो । उनका व्यवसायी साझेदार शिवलाल खतिवडाले कालोपत्रे निर्माण सकिएको रातबाटै पानी परेकोले अलकत्राले गिट्टी समात्न नसक्दा सडक भत्किएको बताएका छन् । साथै सडकमा खोलो पसेका कारण भत्किएको समेत उनले बताए । भत्किएको सडक पुनः निर्माण गरिदिने उनले प्रतिबद्धता समेत जनाए ।

Exit mobile version