विराटनगर / बाढी र पहिरोमा परेर सर्वसाधारणको मृत्यु र बेपत्ता हुने क्रम बढिरहेका बेला मोरङको रंगेली नगरपालिका–९ मा रहेको गेउरिया खोलामा फेला परेको शवको भने सोमबार दिउँसोसम्म पहिचान हुन सकेको छैन ।
खोला किनारमा आइतबार दिउँसो १ बजे अन्दाजी २८ वर्ष र तराई मुलको जस्तो देखिने पुरुषको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रंगेली लगेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले शवको पहिचान हुन नसकेको जानकारी दिए । मोरङको कानेपोखरी गाउँपालिका–२ बाट एक पुरुषलाई बिहीबार खोलाले बगाएर बेपत्ता बनाएको भनिए पनि ती पुरुषको समेत पहिचान हुन सकेको थिएन । त्यहाँबाट बेपत्ता बनाएका पुरुषको शव फेला हुन सक्ने प्रहरीको अनुमान छ ।
मोरङमा शनिबार दिउँसो लोहन्द्रा खोलाले बगाएर बेपत्ता भएका दुई जनालाई पनि अझै फेला पार्न सकिएको छैन । कटहरी गाउँपालिका–४ का ५० वर्षीय शोभा सोरेन र जहदा गाउँपालिका–५ का १६ वर्षीय आदर्श पोेद्धारलाई खोलामा आएको बाढीले बगाएर बेपत्ता बनाएको थियो ।
त्यस्तै रतुवामाई नगरपालिका–६ का १२ वर्षीय अमित हेमरनलाई पनि आइतबार दिउँसो कजला खोलामा आएको बाढीले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता बालक हेमरनलाई पनि फेला पार्न सकिएको छैन । बेपत्ताको खोजी तीव्र पारिए पनि फेला पार्न नसकिएको डीएसपी खिउजुले बताए ।
