सिरहा– सिरहा बर्षा रोकिएसँगै सिरहा सदरमुकामसहित विभिन्न गाउँका डुवानमा परेकाहरुको उद्धार र राहतमा स्थानीय प्रशासन तिव रुपमा लागेको छ । आज बिहानबाट बर्षा रोकिएपछि बाढीबाट बढी प्रभावित क्षेत्रमा उद्धार र राहतसहितको टोली परिचालन गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।
उद्धार गरिएकाहरुलाई अहिले स्थानिय सामाजिक संघ–संस्था र तहहरुले राहात व्यवस्थापन गरेको उनले जनाए । पानी रोकिएसँगै घाम लागेकाले बाढीबाट प्रभावित क्षेत्रमा महामारी फैलिने सम्भावना रहने भन्दै औषधीसहित स्वास्थ्यकर्मीहरुको टोली पठाइएको छ । बाढीमा पसेकाहरुको उद्धारका लागि वस्तीहरुमा सुरक्षाकर्मीको टोली समेत परिचालन गरिएको छ ।
विगत पाँच दिन देखिको मुसलधारे बर्षासँगै कमला, गागन, घुर्मी र बलान नदीमा आएको बाढी बस्तीमा पस्दा सदरमुकाम सिरहासहित कल्याणपुर नगरापालिका,लहान नगरपालिका,मिर्चैया नगरपालिका,सुखीपुर नगरपालिका, बडियारपट्टी गाउँपालिका, औरही गाउँपालिका सखुवानन्कारकट्टी गाउँपालिकाका अधिकांश गाउँ डुबानमा परेका छन् ।
कमला सिञ्चाई आयोजनाले सिंचाईका लागि निर्माण गरिएका ‘एन्टी फल्ड सुलुस’ अधुरै छोड्दा त्यहीबाट कमला नदीको बाढी गाउँमा छिरेपछि सिरहा नगरपालिका ६ बसबिट्टा, वडा नम्बर १२ सारस्वर, सदरमुकाम सिरहा बजार, कल्याणपुर नपा ६ पर्साही लगायतका गाउँ बढी प्रभावित भएका छन् । सारस्वरबाट अझै पनि डुवानमा परेकाहरुलाई रबर वोटको सहयोगमा सुरक्षित स्थानमा ल्याउने काम भइरहेको प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।
यस्तै सिरहा नगरपालिका–६ स्थित बसपिट्टा टोलका ८० घर परिवार विस्थापित भएर सुरक्षित स्थानमा शरण लिन बाध्य भएका छन् । वस्तीमा करिब ५ फिटसम्म पानी बग्न थालेपछि बस्तीका सबैलाई उद्धार गरि सुरक्षित रुपमा विद्यालयमा सारिएको छ ।
त्यसैगरी, नदीको पानी बस्तीमा पसेपछि सिरहाको लहान नगरपालिका १ र २ मिलनचौकस्थित दलित बस्तीका ५० घर परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भएको छ । उनीहरुलाई सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी लहानको सिंगराहीस्थित आधारभूत विद्यालयमा राखेको छ ।
सबैजसो ठाउँहरुमा उद्धार गरी सुरक्षित स्थानमा सारिएकाहरुलाई स्थानीय तहले खान पान र राहतको व्यवस्था गरिरहेको प्रमुख जिल्ला अधिकारीले बताए । उनले भने, “हामी अहिल ेपनि सुरक्षाकर्मीको सहयोगमा प्रभावित क्षेत्रकाहरुलाई उद्धारकार्यमा छौं, स्थानीयतहसँगको समन्वयमा राहत व्यवस्थापनको काम भइरहेको छ ।”
कर्जन्हा नपा ३ सुन्दरवस्तीका १७ घर परिवार दलितहरुलाई राष्ट्रिय फूलकुमारी महतो माध्यमिक विद्यालयमा सुरक्षित राखिएको छ । उनीहरुलाई खाना र स्वास्थ्य उपचार नगरपालिकाले व्यवस्था गरेको विद्यालयका प्रअ भानुभक्त गौतमले बताए । उनले यहाँका सामुदायिक वनले पनि सहयोग गरेको छ तर विशेषरी स्थानीय तहले गरेको जनाए ।
नगरपालिकाले आजै औषधी सहितको स्वास्थ्यकर्मीको टोली विद्यालयमा राखेको छ । एकै ठाउँ वस्ति र फोहर पानीका कारण सुनसुकै वेला स्वास्थ्यका गडवडी आउन सक्ने भन्दै नगरपालिकाले औषधी सहितको स्वास्थ्यकर्मी परिचालन गरेको स्वास्थ्य सहसंयोजक हरिनारायण श्रेष्ठले जानकारी दिए ।
अविरल वर्षा र बाढीबाट पिडित सिरहाको लहान नगरपालिका वडा नम्बर १ र २ का ३० घरपरिवारलाई आज लायन्स क्लब लहानले राहत वितरण गरेको छ । लहानस्थित भावारा नहरको बाँध भत्किएर डुबानमा परेर बिच्चली परेका दुबै वडाका ३० परिवारलाई लायन्स क्लबले प्रति परिवार २५ केजी चामल वितरण गरेको हो ।
नहरको बाँध भत्किएपछि ती दुबै वडाका दलित वस्ती विस्थापित भई लहानको सिंगराही मटियर्वास्थित जनता आधारभूत विद्यालयमा बस्दै आएका छन् । यसैगरी, लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले पनि पीडितहरुलाई लगाउने लुगा, फास्ट फुड, चाउचाउ तथा मिनिरल पानीको वितरण गरेको छ ।
