काठमाडौं। सूर्यग्रहण लगत्तै अब एउटै महिनामा चन्द्रग्रहण लाग्दैछ । औंसीमा सूर्यग्रहण लागेपछि त्यसलगत्तैको पूर्णिमामा चन्द्रग्रहण लाग्नु अत्यन्तै दुर्लभ संयोग हो र यो चन्द्रग्रहणमा त्यही संयोग परेको छ । यस्तो संयोग यसअघि ४९ वर्ष अगाडि सन् १८७० ला परेको थियो ।
आगामी मंगलबार गुरुपूर्णिमाका दिन चन्द्रग्रहण लाग्दैछ । यसअघिको सूर्यग्रहण नेपालबाट देख्न सकिएको थिएन तर चन्द्रग्रहण भने नेपालबाट देख्न सकिनेछ । यो चन्द्रग्रहण पूरा ३ घण्टासम्म रहनेछ । राती सवा १ बजे सुरु हुने ग्रहण बिहान पौने ५ बजेसम्म रहनेछ । हिन्दू धर्ममा ग्रहणलाई विशेष महत्व दिइएको छ । पञ्चांगका अनुसार यो ग्रहण आषाढ शुक्ल पूर्णिमाका दिन उत्तरषाढा नक्षत्रमा लाग्दैछ । यो खण्डग्रास चन्द्रग्रहण हुनेछ ।
धर्मशास्त्रमा ग्रहणका विषयमा केही नियमहरु बनाइएका छन् । ग्रहणका समयमा अन्न र जल ग्रहण गर्नु हुँदैन । चन्द्रग्रहणका क्रममा स्नान गर्नु हुँदैन । ग्रहण सकिएपछि वा सुरु हुनु अघि नै स्नान गर्नुपर्छ । ग्रहणलाई कहिल्यै पनि खुला आँखाने हेर्नु हुँदैन । यसले आँखामा खराब असर गर्छ । ग्रहणको समयमा मन्त्रको जप गर्न सकिन्छ ।
ग्रहणबाट लाभ लिनका लागि पनि केही विधिहरु शास्त्रमा वर्णित छन् । यदि घरमा कोही लामो समयसम्म बिरामी भए ग्रहणपछि घिउ र खिरले हवन गर्नाले लाभ हुन्छ । चन्द्रमा कमजोर स्थितिमा भएका ‘ॐ चन्द्राय नमः’ मन्त्र जप गर्दा लाभ मिल्छ । ग्रहणको क्रममा प्रणायाम र व्यायाम गर्नुुपर्छ । सोच सकारात्मक राख्नुपर्छ । चन्द्रग्रहण समाप्त भएपछि घरमा शुद्धताको लागि गंगाजल छर्नुपर्छ ।
