विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको जेभियर्स बोर्डिङ स्कुलको बस नहरमा पलिंटा भएको दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा दुई शिक्षिका र एक विद्यार्थी छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख १९८२ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिने क्रममा चिप्लिएर पानी बगिरहेको नहरमा खसेको प्रहरीले जनाएको छ । स्कुल जाने विद्यार्थी उठाउँदै हिंडेको बस दुर्घटना हुँदा सोही विद्यालयकी शिक्षिका बुढीगंगा–३ की २२ वर्षीय सम्झना अधिकारी, २४ वर्षीय रिविसा घिमिरे र कक्षा ३ मा अध्ययनरत विद्यार्थी ८ वर्षीय सुरक्षा पौडेल घाइते भएका छन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार घाइते सबैको विराट टिचिङ अस्तालमा उपचार भइरहेको छ । उनका अनुसार बसमा एक चालक, दुई शिक्षिका र १६ जना विद्यार्थी गरेर १९ जना सवार थिए । बस पल्टिएर नहरमा खसेपछि बसमा सवार सबैलाई पानीमा भिजेको अवस्थामा उद्धार गरिएको थियो । बस र चालक बुढीगंगा–१ का ५२ वर्षीय बलराम खतिवडालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
