काठमाडौं । पछिल्लो समय त्रसित बनाएको सिरिन्ज आक्रमणका घटनामा संलग्न रहेको भन्दै प्रहरीले शुक्रबार रामेछाप घर भई काठमाडौं स्थित महाराजगन्जमा रेष्टुरेन्ट सञ्चालन गरिरहेको सन्तोष कार्कीलाई सार्वजनिक गरेको छ । गत जेठ १८ गते राति ढल्कुमा कुकुर डुलाउन निस्किएकी एक महिला माथि मोटरसाइकलमा सवार कार्कीले आक्रमण गरेका थिए । यो घटनापछि यस्तै समस्या लिएर टेकु प्रहरीमा ५ महिलाले उजुरी गरे भने टेकु स्थित शुक्रराज ट्रोपिकल सेन्टरमा एक दर्जन बढी महिलाहरुले आँफुहरुमाथि सिरिन्ज आक्रमण भएको भन्दै स्वास्थ्य परीक्षण गराए । प्रहरीले पनि सिरिन्ज आक्रमण गर्ने व्यत्तिको खोजी गर्ने क्रममा विहीबार राति महाराजगञ्जबाट एक व्यक्तिलाई पक्राउ ग–यो ।
पक्राउ परेका सन्तोष कार्कीले ४ ओटा घटनामा आँफू संलग्न रहेको र ढलान किल्ला तथा काठको टुक्राले घोचेको बयान दिएका छन् । यसले केही हदसम्म क्रास कम बनाएपनि काभ्रे बनेपा तथा काठमाडौंकै विभिन्न ठाँउमा भएका आक्रमणमा संलग्न व्यक्तिलाई पहिचान गर्न सकिएको छैन । गए शुक्रबार टेकुमा प्रहरीले आक्रमणकारी सार्वजनिक गरिरहँदा काठमाडौंको न्युरोड मखन एरियामा भने सडकमा हिडिरहेकी युवतीहरुमाथि आक्रमण भइरहेको सीसी क्यामेरा फुटेज प्राप्त भएको छ । मखन टोल स्थित वडा २५ युवा क्लवको सीसी क्यामेरामा कैद भएको भिडियोमा दिउँसो साढे २ बजेको समयमा ४ जना युवाहरुको समूह मखन गल्लीमा निकै हतार–हतारमा हिँडिरहेका हुन्छन् ।
४ जनाको उक्त समूहमा आएका मध्ये एक युवकले नजिकैको युवतीलाई छुँदै अघि बढ्छन् । यो भन्दा केही अघि सोही समूहले अर्की युवतीलाई पनि आक्रमण गर्छन् । हिडिरहेको बेला पछाडिबाट आएका एक युवकले युवतीको कम्मरमा केही वस्तुले घोच्छन् । त्यसपछि ती युवक भाग्न खोज्छन् । आक्रमण भएकी युवती युवकलाई लखेट्न थाल्छन् । उक्त घटनाको केही समयपछि दुई युवतीमाथि आवारा युवाहरुको एक ग्याङले दुव्र्यावहार गरेको देखेपछि शनिबार हामी घटनास्थल मख्खन टोलमा पुग्यौं ।
त्यहाँका केही स्थानीयले घटना प्रत्यक्ष देखेका थिए । युवातीले लखेटिरहेकी युवा भागिरहेको देखेपछि स्थानीयले उनलाई रोकेका थिए । तर पछि उनले माफी मागेपछि छाडिएको स्थानीयहरु बताउछन् । यी युवतीले तत्कालै आक्रमण गर्ने युवालाई लखेटे पनि प्रहरीमा भने उजुरी गरेकी छैनन् । महानगरीय प्रहरी वृत जनसेवाका प्रहरी अधिकारीका अनुसार यो बिषयमा युवतीले उजुरी नगरेपनि वडा न २५ युवा क्लवका युवाहरुले पनि शुक्रबार नै जानकारी गराएका थिए ।
