Site icon Tukinetwork.com

इराकबाट फर्किएका युवाहरुको यस्तो छ कथा

काठमाडौं । रोजगारीका लागि इराक जान अनुमति नभएपनि अवैध बाटो हुँदै धेरै नेपालीहरु इराक पुगिरहेका छन् । दाङका लेवराम डांगी, ललितकुमार गुजरालप्रेश विश्वकर्मा तथा कोहलपुरका लाल बहादुर आलेलाई पनि वैधानिक तरीकाले इराक जान पाइन्न भन्ने राम्रोसँग जानकारी थियो । तर लामो समय इराकमै रहेका गाँउकै लोकेन्द्र खड्काले आर्कषक अफर पठाएपछि उनीहरु जोखिम उठाउन तयार भए । ३ लाखको लागतमा नेपालबाट भिजिट भिषामा दुवई हुँदै इराकको बग्दाद स्थित ग्रीन जोन भित्र रहेको अमेरिकन तेल उद्योगमा काम लगाइदिने र महिनाको ७०÷८० हजार कमाई हुने लोभ–लालच देखाइयो र बंगाली पासपोर्ट बनाएर २०१८ अगष्ट १२ मा इराकको कुर्दिस्तानमा पु¥याइयो ।

तर इराक टेकेको पहिलो पाइला नै उनीहरुलाई लोकन्द्रले सुनाए जस्तो थिएन । पहिले मिठो बोलेका लोकेन्द्र इराक पु¥याएपछि भने एकाएक क्रुर भए । उनीहरुलाई डेढ महिनासम्म बन्द कोठामा राखे, कामको त कुरै थिएन । डेढ महिनापछि कम्पनीमा पु¥याइदिने भन्दै ट्याक्सी चढाएर बग्दाद पठाए तर, ट्याक्सीले सडकमै छोडिदिए, कम्पनीबाट कोही आएन । त्यही बेलामा सम्पर्कमा आएकी अर्की एक नेपाली माया भनिने लक्ष्मी श्रेष्ठले उनीहरुलाई सहयोग गरे जस्तो गरिन् । एक दिन बस्ने व्यवस्थापन मिलाइन तर अर्को दिन त लोकेन्द्र र उनको सेटिङनै रहेछ ।

लोकेन्द्रकै आग्रहमा पछि इराकी र पाकिस्तानी एजेन्टले उनीहरुमाथि कुटपिट गर्न थाले, एक सातासम्म बन्द कोठामा शौचालयको पानी खाएर बस्न बाध्य भए । कतिसम्म भने इराकीहरुले उनीहरुको टाउकोमा लोड गरेको बन्दुक समेत राखे । लोकेन्द्रले उनीहरुलाई पाकिस्तानी एजेन्ट लगाएर इराकी मेनपावर कम्पनीमा बेच्न लगाए । इराकी मेनपावरमा प्रति व्यक्ति एक हजार डलरमा बेचिदिएका रहेछन् । त्यही कम्पनी मार्फत ६ महिनासम्म इरानको बोर्डरमा रहेको एक रेष्टुरेण्टमा काम लगायो ।

तर, १८ घण्टा काम गर्दा, महिनामा मुस्किलले ४ हजार डलर तलब आउँथ्यो । काममा केही ढिला भए सबै नेपालीले कुटाइ खान्थे । ६ महिनासम्म पनि सुधार नभएपछि कम्पनीबाट उनीहरु भागे र बगदाद पुगे । भाग्दै गर्दा उनीहरु हाम्रो कार्यक्रममा भिडियो कल मार्फत गुनासो गरेका थिए । बगदादमा रहेको नेपाली हेल्प गु्रपका अन्य नेपालीहरुको सहयोगमा कुवेत दुतावासको सम्पर्कमा पुगे र नेपाल फर्किन सके । हेल्प गु्रपका अनिल श्रेष्ठका अनुसार इराकमा सयौँ नेपालीको अवस्था यस्तै छ । यो अवधिमा उनीहरुको २४ लाख भन्दा बढी खर्च भयो ।

रोजगारीको खोजीमा राज्यले अनुमति नदिएको देशमा उठाएको जोखिम उनीहरुका लागि महंगो बनेको छ । अहिले उनीहरुले लोकेन्द्र खड्का र लक्ष्मी श्रेष्ठ (माया)का विरुद्ध मानव वेचबिखन अनुसन्धान व्युरोमा उजुरी दिएका छन् ।

Exit mobile version