Site icon Tukinetwork.com

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश तीनले छुट्यायाे पाँच करोड

राष्ट्रियरुपमा चर्चा पाएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । भरतपुर महानगरपालिका र वडा कार्यालयले पनि रकम विनियोजनको तयारी गरेका छन् ।भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालका अनुसार प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरिसकेको छ । काम अघि बढ्दै गर्दा थप रकम दिन प्रदेश सरकार सकारात्मक देखिएको दाहालले जानकारी दिनुभयो । म‌ंगलबार परिषद् गर्न लागेको महानगरले रङ्गशालाका लागि पाँच करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको छ ।

महानगरभित्र रहेका २९ वटा वडाले पाँच लाख रुपैयाँका दरले रकम विनियोजन गर्ने तयारी गरेका छन् । बहुवर्षीय योजना भएकाले महानगरले सुरुआती रकमका रुपमा यो बजेट विनियोजन गरेको भए पनि आउँदो वर्ष अरु थप रकम विनियोजन गर्ने देखिएको छ ।महानगर प्रमुख दाहालले निजी क्षेत्रसँगै सङ्घ, प्रदेश र स्थानीय तहले रङ्गशाला निर्माणका लागि रकम विनियोजन गर्ने क्रम सुरु भएको जानकारी दिनुभयो ।जिल्ला समन्वय समिति चितवनका प्रमुख एवं रङ्गशाला निर्माण सहयोग समितिका संयोजक कृष्णकुमार डल्लाकोटीले रङ्गशाला निर्माणका लागि सहयोग जुटाउन सबै स्थानीय तह सकारात्मक देखिएको बताउनुभयो ।

कतिपयले बजेटमा नै राखेर र कतिपयले कोषको पूँजीबाट सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।गएकाे जेठ १५ गते स्थानीयले बाटो विस्तारको माग गर्दै रङ्गशालाको टिनको बार भत्काएपछि काम रोकिएको छ । रङ्गशाला निर्माणमा जुटेको धुर्मुस सुन्तली फाउण्डे शनका पदाधिकारी काठमाडौँमा रहेका छन् ।डल्लाकोटीका अनुसार एक दुई दिनमा उहाँहरुको उपस्थितिमा बैठक बसी काम अघि बढाइने छ ।फाउण्डेशन र सरकारी निकायले के के गर्ने भन्ने टुङ्गो लगाएर कामलाई अघि बढाइने डल्लाकोटीको भनाइ छ ।जिल्ला का सबै राजनीतिक दलसहित जिल्लावासी रङ्गशाला निर्माणका लागि सकारात्मक रुपमा अघि बढेका छन् । रङ्गशालाको शिलान्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको थियो । भरतपुर महानगरपालिका–१५ मा दुई वर्ष छ महीनामा सम्पन्न गर्ने लक्ष्य राखिएको रङ्गशाला निर्माण गर्न तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।रङ्गशाला निर्माणका लागि निजी क्षेत्रबाट छ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन एवं आश्वासन प्राप्त भइसकेको छ ।

Exit mobile version