Site icon Tukinetwork.com

चितवनमा रंगशालाको विवाद भइरहेकै समयमा दाङमा बन्ने भयो चितवनमा भन्दा ठुलो अर्को रंगशाला

घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त खेलकूद रङ्गशाला निर्माणको काम थालिएको हो ।

चालू आवमा प्रदेश सरकारको उक्त रङ्गशाला निर्माणका लागि रु ५० लाख छुट्याइएको छ । सरकारले दिएको उक्त बजेटलाई उपमहानगरपालिकाको प्राविधिक सहयोगमा रङ्गशाला व्यवस्थापन तथा निर्माण समिति बनाएर काम शुरु भएको छ ।उपमहानगरपालिकाका इञ्जिनीयर रामधन श्रेष्ठका अनुसार करौती डाँडामा बन्न लागेको बहुउद्देश्य खेलकूद रङ्गशालामा फुटबलका साथसाथै विभिन्न खेल खेल्न संरचना तयार गरिनेछ ।

रंगशालाभित्र मात्रै करीब २०० मिटरको लम्बाइ र १५० मिटरको गोलाइसहितको मैदान तयार पारिनेछ । नेत्रलाल अभागी बहुउद्देश्य रङ्गशाला नामकरण गरेर बनाउन शुरु गरिएको उक्त खेलकूद मैदानको सम्पूर्ण संरचना तयार हुन करीब रु २७ करोड लागत लाग्ने अनुमान गरिएको छ । रङ्गशालाको स्टेडिएम नै ५० देखि ६० हजार दर्शक अट्ने खालको बनाइन लागिएको उहाँले बताउनुभयो ।

नगरप्रमुख नरुलाल चौधरीले रङ्गशाला राष्ट्रियस्तरको हुने बताउनुभयो । चालू आवको बजेटअनुसारको काम गर्नका लागि रङ्गशाला निर्माण उपभोक्ता समिति गठन गरी काम गर्न थालिएको उहाँले जानकारी दिनुभयो । नेत्रलाल रङ्गशाला व्यवस्थापन तथा निर्माण समितिका सचिव नरेन्द्र पुनले रङ्गशाला निर्माणको काम क्रमागत भएको हुँदा प्रत्येक बर्ष प्रदेश सरकारले बजेट पठाउने विश्वास व्यक्त गर्नुभयो

Exit mobile version