Site icon Tukinetwork.com

फेसबुकाे अध्यक्षबाट मार्क जकर्बर्गलाई हटाउने प्रयास विफल

एजेन्सी । मार्क जकर्बर्ग फेसबुकको अध्यक्षमा पुनः चयन भएका छन् । फेसबुकको वार्षिक साधारणसभामा भएको मतदानसँगै जकर्बर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै पदमा रहिरहने भएका हुन् । फेसबुकमा जकर्बर्गको ६० प्रतिशत शेयर छ । त्यसैले उनी आफैंले आफ्ना विरुद्धमा मत हालेमा मात्रै उनी पराजित हुने थिए । उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्ने अन्य लगानीकर्ताले अध्यक्ष पद छाडेमा जकर्बर्गले कम्पनी सञ्चालनमा अझ ध्यान दिनसक्ने तर्क गरेका थिए ।

जकर्बर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येको एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट समेत हो । ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले मतदानअघि भने, ‘संसारको एउटा विशाल कम्पनीमा अहिले उनले दुईवटा महत्वपूर्ण पद ओगटेका छन् । यदि उनले प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ ।’

ल्यारी पेज र एल्फबेट तथा बिल गेट्स र माइक्रोसफ्टको दृष्टान्त दिँदै उनले संस्थापक नै सञ्चालक समितिको अध्यक्ष बनिरहन नपर्ने तर्क गरेका थिए । ‘मलाई थाहा छ यो त्यति सजिलो कदम नहुन सक्छ । तर यो महत्वपूर्ण कदम उनको हित र उनका लगानीकर्ताहरूको हितमा हुन्छ ।’ एक वर्षभन्दा लामो समयदेखिको फेसबुकमाथि गोपनीयता र सूचना सुरक्षासम्बन्धी प्रश्न उठिरहेका छन् ।

साधारणसभामा स्वतन्त्र अध्यक्ष नियुक्त गर्ने सम्बन्धी प्रश्नको जवाफ दिन जुकर्बर्गले अस्वीकार गरेका थिए । उनले फेसबुकलाई निर्देशित गर्न गोपनीयता र सूचनाका विषयमा नियामक संस्थाहरूले नियम बनाउनुपर्ने धारणा दोहो¥याए । साधारणसभा स्थलको बाहिर सानो समूहले फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई संरक्षण नगरेको भन्दै विरोध प्रदर्शन गरेका थिए भने अर्को समूहले फेसबुकले सेन्सर गरेको भन्दै प्रदर्शन गरेका थिए ।

गत मेमा फेसबुकका पूर्वसुरक्षा प्रमुख एलेक्स स्ट्यामोसले जकर्बर्गलाई प्रमुख कार्यकारीको पद छाड्न आग्रह गरेका थिए । जकर्बर्गले आफ्नो नेतृत्वको बचाउ गर्ने गरेका छन् ।

Exit mobile version