काठमाडौं । भूकम्प र भोटेकोशीको बाढीले तातोपानी र खासाको सम्बन्ध टुटायो । ४ बर्षसम्म बन्द रहेको नाका खुल्नेमा तातोपानीबासी शंका गर्दै आएका थिए । अहिले नाका सञ्चालनमा आएपछि पुनः बजार विस्तार हुने आशा सुरु भएको छ ।
सिन्धुपाल्चोकको तातोपानी नाकामा बस्दै आएकी उषा थापाको अनुहारमा थोरै मुस्कान देखिन थालेको छ । भुकम्प र भोटेकोसीमा आएको बाढीलाई पनि जितेर बसेकी उनि बन्द तातोपानी नाका खुलेकोप्रति निकै खुसी छिन् । विगतमा जस्तै तातोपानी नाकामा रोजगारी पाउने र जिविकोपार्जनमा सघाउ पुग्नेमा उषा विश्वस्त छिन् ।
लामो समयसम्म सुनसान बनेको तातोपानी नाका खुल्ने आशमा बसेका स्थानीयबासीमा पनि उषाको जस्तै खुुसी भित्रिएको छ । भूकम्पपछि बन्द तातोपानी नाका ४९ महिनापछि पुनः सञ्चालनमा आउँदा थातथलो कुरेर बसेकाहरु पुनः व्यापार गर्न पाउनेमा आशावादी छन् ।
भूकम्पको त्रास र नाका बन्द भएपछि दैनिकी चलाउन मुश्किल भएपछि थातथलो छोडेकाहरु पनि बिस्तारै गाउँ फर्क अभियानमा छन् । बिहिबार नाका संचालनमा आएपछि काठमाडौं लगायतका शहर पसेकाहरु पुनः गाउँ फर्किएर भत्किएका संरचनाको टालटुलमा जुटेका छन् ।
४ बर्षसम्म खण्डहर बनेको तातोपानी र लिपिङ बजारमा नाका संचालनसँगै चहल–पहल बढ्न थालेको छ । यही क्षेत्रबाट वार्षिक २० अर्बको आयात र ३ अर्ब बढीको निर्यात हुँदा स्थानीयको रोजीरोटी राम्रैसँग चलेपनि पछिल्ला ४ बर्षयता यस क्षेत्रका बासिन्दाले निकै सास्ती खेप्नुपरेको थियो ।
भूकम्पले साविकको तातोपानी र फुल्पिङकट्टी गाविसमा मात्रै ६४ जनाको ज्यान लिएको थियो । कोदारी राजमार्गको बाह्रविसे–लिपिङ खण्ड क्षत–विक्षत बनाएको थियो भने तातोपानी बजारका बस्ती खण्डहरमा परिणत भएको थियो । सवारी साधन सडकमै पुरिएका थिए । भू–कम्पपछि बस्नै नसक्ने भएपछि स्थानीयले थातथलो छोडेका थिए । नाका खुल्ने निश्चित भएपछि स्थानीय फर्किदा तातोपानी क्षेत्रमा पुनः चहलपहल बढेको छ ।
