मुस्ताङ / मुस्ताङको मुक्तिनाथ मन्दिरमा यात्रुवाहक बसबाट दर्शन गर्न जाँदै गर्दा बेहोस भएका एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको बङ्गलोर बस्ने ६५ वर्षीया एल चुडामणिको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पोखराबाट मुक्तिनाथ गइरहेको बसमा यात्रा गरिरहेकी उहाँ बेनी–जोमसोम सडक खण्डअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित माथिल्लो घाँसामा अचानक बेहोस हुनुभएको थियो । पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उहाँलाई भर्ना गरिएको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।
