जलेश्वर / जिल्लाको जलेश्वर नगरपालिका वडानं. ५ का वडाध्यक्ष राकेश राउतसहित उनका आसेपासेहरुले मन्दिरको विषयमा विवाद हुँदा तिनजनालाई कुटपिट गरेका छन् । कुटपिटले तिनैजना सिकिस्त घाइते हुन पुगेका छन् । घाइते तिनैजनालाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर पठाइएको छ ।
मन्दिर निर्माणको विषयमा स्थानीय बासुकी चौधरी र शशिकान्त बीच विवाद हुदाँ वडाध्यक्षसहित उनका आसेपासेहरुले बासुकी चौधरीसहित रामएकवाल कापरलाई कुटपिट गरेका थिए । कुटपिटबाट दुवै सिकिस्त हुन पुगेको र दुवैलाई थप उपचारको लागि जनकपुर पठाइएको छ । वडाध्यक्ष राउतसहित स्थानीय सुशिल राउत, दिलिप राउत, उदय राय लगायतका व्यक्तिहरुले कुटपिट गरेको स्थानीयहरुले बताएका छन् । कुटपिट गरेका मध्ये उदय रायलाई तत्कालै जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले पक्राउ गरेको छ भने अन्यको खोजी गरिरहेको जनाएको छ । त्यसैगरी वडाध्यक्षसहित उनका मान्छेहरुले स्थानीय शिव टे«डर्सका सञ्चालक रंजित रायलाई पनि गाउँमा रकम असुली गर्न पुगेको वखत कुटपिट गर्दै उनको दुई लाख रुपैया समेत लुटेको छ ।
स्थानीयहरुले मन्दिरको कारणले विवाद भएको भनिएपनि कुटपिटको मुख्य कारण मदिरा विरोधी अभियान रहेको जनाएको छ । केही समयदेखि गाउँमा मदिरा विरोधी अभियान चलाउन थालेपछि सो को विरुद्धमा वडाध्यक्ष लागेका थिए र सोही तुष मेटाउन वडाध्यक्षले यस्तो हर्कत गरेको स्थानीयहरुको आरोप छ । स्थानीयहरुले वडामा मदिराको पसल बढेर झै झगडा, मारपिटसहित महिला हिंसा बढदै गएपछि सोको रोकथामको लागि मदिरामुक्त अभियान चलाएका थिए तर सो अभियानमा वडाध्यक्षले साथ नदिएको देखिएको थियो । यता, वडाध्यक्ष राउतले आफुहरुले कुटपिट नगरेको बताउनुभएको छ । राउतले मन्दिर निर्माणको लागि बनेको समितिको विवादमा आफुलाई बासुकी चौधरीसहितले गालीगलौच गरेपनि कुटपिट भएको तर आफुले भने कुटपिट नगरेको बताउनुभयो ।
