Site icon Tukinetwork.com

घुस्याहा भन्दै मेयरले ढोका थुनेर कर्मचारी कुटे पछि बबाल, पत्रकार माथि पनि जाइलागे

इटहरी, ८ जेठ । इहटरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कर्मचारीले घुस खाएको भन्दै कुटपिट गरेपछि बबाल उत्पन्न भएको छ । कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । वडा नम्बर १९ का वडा सचिव मनोज दाहाल र सब इन्जिनियर रामबहादुर खड्कालाई घुस आएको भन्दै कार्यालयको ढोका थुनेर कुटपीट गरेपछि कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। कर्मचारीलाई कुटपिट गरेको मेयर चौधरीले स्वीकार गर्दै भ्रष्ट कर्मचारीलाई ठेगान लगाउन आफुले त्यसो गरेको बताएका छन् ।

बुधबार दिउँसो साढे दुई बजे तिर यो घटना भएको हो । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा कर्मचारी कुटिएका हुन् । उनले आफैले गाडी दिएर उनीहरुलाई कार्यालयमा झिकाएर प्रशासकिय अधिकृतको कार्यकक्षमा कुटेका हुन् । मेयरले लिन बोलाएर आएका दाहाललाई कोठामा पस्ने बित्तिकै मेयरले तँ भ्रष्ट भन्दै गाली गरेका थिए । उनले बसन चौधरीलाई सिसी क्यामेरा अफ गर्न लगाएर गालीगलौज र कुटपीट गरेको कर्मचारीले बताएका छन् । कुटपीट गर्दै उनले कर्मचारीको कठालो समातेर भ्रष्ट कर्मचारी भन्दै बाहिर निकालेका थिए । जुन कुरा मेयर आफैँ स्वीकारेका छन् ।

कुटाई खाएपछि न्याय माग्न पुगेका दाहालले प्रमाण जुटाउन सिटिटिभी फुटेज खोज्दा नभेटिएपछि उनले क्यामेरा अफ गरेको थाहा भएको हो । खोज्दा सिसिटिभी अफ गरेर कुटपीट र गालीगलौज गरेको कर्मचारी सुरेश कार्कीले बताए। कार्कीका अनुसार नियतवश मेयर चौधरीले कर्मचारी दाहाललाइ सिसिटिभी अफ गराएर कुटेको बताए ।

केही समयको दौरानमा अर्का कर्मचारी रामबहादुर खड्कालाई पनि घुस लिएर नक्सा पास गरेको भन्दै उनले हप्काए । उनले घुस्याहा कर्मचारीलाई कार्यालयमा बस्न नपाउँने भन्दै कार्यालय बाहिर जान निर्देशन दिए। आफैँले नियुक्ति गरेका कर्मचारी खड्कालाई घिसार्दै कार्यालयबाट निकालेको प्रत्यक्षदर्शीले बताएका छन् । इटहरीका स्थानीय चाणक पोखरेलको परिवारबाट घुस लिएको मेयर चौधरीको आरोप छ ।

घर सम्पन्नको प्रमाणपत्र दिने नाममा सेवाग्राहीबाट घुस लिएको मेयरले बताएका छन् । खड्काले भने आफूले घुस नलिएको बताएका छन् । कार्यकक्षमै कर्मचारी कुटिएको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आवञ्छित, अलोकतान्त्रिक र अपराधिक हर्कत भएको भन्दै कर्मचारीहरुले प्रेस विज्ञप्ति जारी गरेका छन् । कर्मचारी कुट्ने मेयर मुर्दावाद, कर्मचारी कुट्न पाईँदैन, अपराधी मेयर चाहिँदैन’ भन्दै कर्मचारीले नाराजुलुस पनि गरेका थिए । ज्यानको सुरक्षाको माग गर्दै दिएको जायरी प्रहरीले दर्ता गर्न नमानेको कर्मचारीले बताएका छन्।

बुधबार मेयर चौधरीसँग प्रतिक्रिया लिन पुगेका पत्रकारहरू कृष्णबहादुर भट्टराई र विकल रेग्मीलाई नगरपालिका परिसरमै गालीगलौज गर्दै हप्काएका छन्। उनले पत्रकारले प्रश्न सोध्दा उल्टै अभद्र शैलीमा लोपारेका थिए। कर्मचारी कुटेको विषयमा प्रतिक्रिया लिन खोज्दा मेयर चौधरीले पत्रकार रेग्मीको कठालो समाते। भने भट्टराइलाई सार्वजनिक स्थलमा अभद्र शैलीमा हप्काएका छन्। कर्मचारी कुटपिटका विषयमा प्रतिक्रिया लिन पुगेका दुबै पत्रकारमाथि मेयरले गरेको व्यवहारको विरोध गर्दै पत्रकार महासङ्घ सुनसरीले विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको छ।

Exit mobile version