Site icon Tukinetwork.com

चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी

यज्ञराज जोशी लिपिङ (सिन्धुपाल्चोक) ।
विहान ७ बजे तातोपानी नाका जोडिएको लिपिङ बजारको तल्लो भेगमा चेङा शेर्पा (५५) भर्खरै खुलेको आफ्नो चियाँ खाजा घरमा ग्राहक कुर्दै थिइन्।

२०७२ को भुकम्पअघिसम्म निकै व्यस्त हुन्थ्यो तातोपानी नाका। भुकम्पपछि नाका बन्द भयो। र, लिपिङ बजार सुनसान बन्न पुग्यो।

तर, नाका खोल्न नेपाल र चीनले काममा तीब्रता दिएपछि पछिल्लो समय यस क्षेत्रको चहलपहल विस्तारै बढ्न थालेको छ।

बन्द सटर र पसलका ढोकाहरु खुल्न थालेका छन्। चेङाले पनि भुकम्पपछि बन्द आफ्नो खाजा पसल सो क्षेत्रमा सडकको काम शुरु भएपछि खोलेकी हुन्।

‘बाटो बनाउने श्रमिकहरु चिया, नास्ता खान आउलान् भनेर खोलेकी हुँ,’ बुधबार (१ जेठ) नेपालखबरसँग आफ्नै पसल अघि कुरा गर्दै उनले भनिन्।

चेङाको परिवार १४ वर्षअघि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाबाट तातोपानी नाका क्षेत्रमा आएको हो।

जुगलमा न बाटोघाटोको सुबिधा थियो, न त छोराछोरीलाई पढाउन नजिक विद्यालय नै। स्थानीयले सल्लाह दिए, ‘तातोपानी नाका जाऊँ, त्यहाँ बालबालिका पढाउन सजिलो हुन्छ, कमाई पनि हुन्छ।’

त्यसबेला वार्षिक औषत २० अर्ब कारोबार हुने तातोपानी नाका र लिपिङ बजार निकै व्यस्त थियो। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, भन्सार, अद्यागमन कार्यालय, बैंक तथा वित्तीय संस्थाहरु लिपिङ बजारमै थिए।

नाकासँगै जोडिएको सुनसान लिपिङ बजार

नाकासँगै जोडिएको सुनसान लिपिङ बजार
बाक्लो संख्यामा व्यापारी, स्थानीय, मजदुर, सवारी चालकहरु, सरकारी प्रतिनिधिहरुको दैनिक चहलपहल हुन्थ्यो। चेङाको खाजा पसल राम्रै चलेको थियो। त्यसैको आम्दानीबाट उनको परिवारले कोदारीमा सानो घडेरी जोडेर घर बनाएको थियो। छोराछोरीलाई स्थानीय स्कुलमा भर्ना गरेको थियो।

तर, भुकम्पले चर्काएको उनको एक तल्ले घरलाई भोटेकोशीको बाढीले बगाइदियो। त्यसपछि उनको परिवारको वास टहरामा हुन पुग्यो। दुखका दिन सुरु भए।

अर्काको बारीमा काम गरेर, मजदुरी गरेर जसोतसो जीविका चलाउँदै आएकी उनलाई चीनले तातोपानी नाका खोल्न मितेरी पुल र सडक निर्माण थालेपछि भने पुराना दिन फर्कने आशा पलाएको छ।

‘भुकम्प र बाढीले नाका पनि सुनसान बनायो, दुःख पनि थप्यो,’ चेङाले भनिन्, ‘अहिले त पसल त्यति चल्दैन। नाका खोलेपछि चल्छ भन्ने आशा छ। बाटो बनेको देख्दा छिट्टै नाका खुल्छ जस्तो लाग्छ।’

भोटेकोशीको बाढीले कोदारी भन्दा माथि रहेको लिपिङको सडक संरचना नै बगाएर लगेको थियो। तर, चिनियाँ पक्षले अहिले त्यहाँ बाटो बनाइसकेको छ। गाडीहरु नाकासम्मै चल्न थालेका छन्। बाढीले बगाएको मितेरी पुलको काम पनि ८० प्रतिशत भन्दा धेरै सम्पन्न भइसकेकाले स्थानीयहरु पुनः पुराना दिन फर्कने आशा गरेर बसेका छन्।

चेङाको पसल नजिकै भुकम्पअघि पासाङ ठिलिङ शेर्पा (५८)को पनि होटल थियो। नाका चल्दा त्यो होटलमा दैनिक ५–१० हजारसम्मको व्यापार हुन्थ्यो। विहान ३ बजेदेखि साँझ ७–८ बजेसम्म उनी पसलमा निकै व्यस्त हुन्थे।

तर, नाका बन्द भएपछि उनको व्यापार चौपट भयो। नाका बन्द भएको केही समय त उनले होटल चलाए। तर तर, मान्छे नै नभएपछि कसरी चल्थ्यो? होटल बन्द भयो, उनी बेरोजगार भए।

त्यसपछि धेरै समय खाली र अर्काकोमा मजदुरी गरेर बिताएका पासाङले चीनले नाका खोल्न सडकको काम थालेपछि भने सडकमा मजदुरी गर्ने काम पाए।

अहिले उनलाई पनि नाका खुल्छ र होटल शुरु गरौँला भन्ने पखाई छ। तर वर्षात्मा आउने बाढीले फेरि सडक बगाउने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ।

‘नाका खोल्ने आशामै नागो (बिना पैसा) भइसकियो। खुले त सबैले केही न केही काम गरेर खान पाउँथे,’ उनले भने, ‘तर, वर्षामा आउने पहिरोले पुनः बनाएको बाटो बिग्रने जोखिम छ।’

कोदारीका धावा मगर (३८) पनि नाका खोलेपछि पुरानो जीवन फर्कने आशामा दिन बिताइरहेका छन्।

नाका चल्दा उनले दैनिक भारी बोकेरै २–३ हजारसम्म कमाउँथे। काम नपाएको कुनै दिन थिएन।

‘मलाई मात्रै हैन, नाका बन्द हुँदा सिन्धुपाल्चोकवासी सबैलाई गाह्रो परेको छ, झण्डै भोकमरिको अवस्था छ, ढुङ्गो–माटो बोकेर, ढिडो र सिस्नु खाएर बस्नु परेको अवस्था छ’ उनले दुखेसो पोखे, ‘नाका बन्द भएपछि सबैथोक बन्द भयो, अहिले एक छाक खानपनि दिनभर ढुङगा बोक्नुपर्छ, त्यो कामपनि सधैँ पाइँदैन।’

तातोपानी नाका बन्द भएपछि नाकामै आश्रित यस क्षेत्रका हजारौँ बासिन्दा विस्थापित भए। कैयौँ विदेशिए।

तर, नाका खुलेको दिनलाई स्थानीयवासीले ‘दोस्रो दशैँ’ को रुपमा मनाउने तयारी गरेका छन्। भोटेकोशी गाउँपालिका– २ का अध्यक्ष दीपेन्द्र श्रेष्ठले भने, ‘नाका खुलेको दिन हाम्रा लागि दशैँ सरह हुनेछ। हामी विशेष कार्यक्रम गरी उत्सव मनाउने छौँ।’ स्मरणीय छ, तातोपानी नाका यही वडामा अवस्थित छ।

‘यस क्षेत्रमा खेतीयोग्य जमिन त्यति धेरै छैन’ उनले भने, ‘उद्योगधन्धा, कलकारखाना पनि केही छैनन्।’ यही कारणस्थानीयहरु सम्पूर्ण रुपमा नाकामै आश्रित रहेको बताउने उनी नाका खुलेपछि यहाँको जीवनस्तरमा ठूलो फड्को मार्ने बताउँछन्।

नाका खुल्ने भएपछि स्थानीयहरुले आफ्नो ठाउँमा फर्कने प्रयास गरिरहेको उनले महसुस गरेका छन्। ‘भुकम्पछि बन्द रहेका व्यापारिक घरका ढोकाहरु विस्तारै खुल्न थालिसकेका छन्’, वडाध्यक्ष श्रेष्ठले भने, ‘स्थानीयहरु नाका खुलेपछि पुरानै जीवन फर्कने पखाईमा छन्।’-

Exit mobile version