Site icon Tukinetwork.com

मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन समुन्नत समाजवादको निर्माण : डा भट्टराई

समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले समुन्नत समाजवाद निर्माणका लागि समाजवादी पार्टीको स्थापना गरिएको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेशको तमुवान–मगरातद्वारा आज यहाँ आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा उहाँले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउनुका साथै सुशासनलाई टेकेर समृद्ध नेपालको जगमा समुन्नत समाजवादको निर्माण गर्ने पार्टीको लक्ष्य रहेको बताउनुभयो ।

दुवै पार्टी समाजवादी र लोकतान्त्रिक विचारधाराका रुपमा रहेकाले एक ठाउँमा आएर मुलुकलाई नयाँ विकल्प दिएको उल्लेख गर्दै उहाँले पार्टीलाई बुद्धिमतापूर्ण ढङ्गले प्रथम राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने उल्लेख गर्नुभयो ।उहाँले मुलुकको भौगोलिक एकीकरण भए पनि अहिले पनि भाषिक तथा सांस्कृतिक विकास हुन नसकेकाले राष्ट्रिय र बाह्य एकताका लागि पार्टीले ठोस् रुपमा दायित्व निर्वाह गर्ने बताउनुभयो ।

सोही कार्यक्रममा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सामाजिक न्यायमा आधारित राज्य प्रणालीलाई अगाडि बढाउनमा यो एकताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नागरिक स्वतन्त्रता, लोकतन्त्रमा आधारित समानता, विभेद्को अन्त्य र मुलुकलाई समृद्ध बनाउने पार्टीको नीति रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सुशासन, समाजवाद, पहिचानसहितको सङ्घीयता र गरीबी अन्त्य गर्न दुई शक्ति एकीकृत भएको जानकारी गराउनुभयो ।

उहाँले हिमाल, पहाड र तराईलाई भावनात्मक रुपमा जोड्ने कार्य पार्टीले गरेकाले जातीय, धार्मिक, भाषीय र विभिन्न संस्कृतिको संरक्षण तथा सम्बर्द्धनका साथै पहिचानसहितको सङ्घीयताका लागि एक्यबद्ध भएर लाग्ने उल्लेख गर्नुभयो । “विदेशीलाई नागरिकता दिनु हुन्न र नेपाली नागरिकको सन्तानलाई राज्यविहीन बनाउनु हुँदैन्”, समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका यादवले भन्नुभयो, “लैङ्गिक समानता, विभेद र गरीबीको अन्त्य गर्नु आवश्यक रहेको छ ।”

सो पार्टीका वरिष्ठ नेता अशोक राईले रहर र लहडमा पार्टी एकता नगरेको उल्लेख गर्दै राष्ट्रिय आवश्यकताका लागि दुई पार्टी मिलेर समाजवादी पार्टीको स्थापना गरेको बताउनुभयो । उहाँले असङ्ख्य चुनौतीको सामनाका लागि साङ्गठनीक रुपमा पार्टीलाई बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभयो ।

पार्टीका नेता देवीप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव गङ्गालाल श्रेष्ठ, उपमहासचिव प्रकाश अधिकारी, सचिव दुर्गा स्वारलगायतले हिमाल, पहाड र तराईको एकताका रुपमा पार्टीको स्थापना भएको धारणा व्यक्त गर्नुभएको थियो ।

Exit mobile version