दोलखाको डाँडागाउँकी जेनी खड्का कलिलै उमेरमा पारिवारिक स्नेहबाट टाढा भइन् ।कमजोर आर्थिक अवस्था भएका कारण आश्रममा बसेर पढ्न थालिन् । आश्रममा रहँदा उनी हरक्षण निष्फि क्री भएर मनको बह पोख्न सक्ने साथीको खोजीमा तल्लीन रहन्थिन् । अन्ततः कक्षा १० मा पढ्दै गर्दा काभ्रेका विष्णु भुजेलसँग उनको भेट भयो, जसले उनको एक्लो जीवनमा साथ दिने वाचा गरे । भुजेलले दिएको आश्वसनमा सजिलै लोभिइन् । उनीहरुले वैवाहिक जीवनमा बाँधिने निधो गरे । १५ वर्षकै उमेरमा उनले भुजेलसँग भागी विवाह गरिन् ।
बनेपामा मोटरसाइकल ग्यारेजमा काम गरेका भुजेलसँग उनको जीन्दगी जसोतसो चलेकै थियो । बिहेपछि उनीहरु डेरा गरेर बसेका थिए ।तर, जब उनीहरुको एक सन्तान जन्मियो, भुजेलले श्रीमतीलाई लिएर घर गए । त्यहाँ उनले कहिल्यै कल्पना नगरेको कुरा सुनिन् । जेनीले आफू भुजेलको कान्छी श्रीमती भएको चाल पाएकी थिइन् । उनी विष्णुलाई छाड्ने निष्कर्षमा पुगिन् । पछिल्लो समय कालोपुलमा बसेर प्राइभेट स्कुलबाट कक्षा १० पढिरहेकी थिइन् भने एउटा सहकारीमा पनि काम गर्थिन् । विष्णुको जेठी श्रीमतीसँग पनि राम्रो सम्बन्ध थिएन त्यसैले जेनीलाई पछ्याइरहे ।
