Site icon Tukinetwork.com

फेसबुके साथीको ‘सरप्राइज गिफ्ट’– ३० हजार पाउण्डको लोभमा २५ लाख झ्वाम !

काठमाडौं । तीन महिना अघि दुबई स्थित एक होटलमा कार्यरत गोरखाका श्यामबहादुर आले (नाम परिवर्तन)लाई फेसबुकमा ‘रोज लण्डन’ नामबाट फ्रेण्ड रिक्वेस्ट आयो । फेसबुक फ्रोफाइलमा युवतीको तस्वीर थियो । केही छिन्मै उनीहरु साथी भए । कुराकानी सुरु भएको केही दिनमा नै उनीहरु राम्रो साथी बन्न पुगे ।एका बिहानै रोजले श्यामको लागि उपहार पठाउन लागेको म्यासेज आयो । श्यामले पनि सहजै पत्ताए र नेपाल फर्किन लागेकाले नेपालकै ठेगाना दिए । त्यसको ३ दिनपछि भारतको नम्बरबाट रोजले सामान पठाएको भन्दै फोन आयो ।

भारतको भन्सारमा सामान रोकिएकाले भन्सार शुल्क तिर्न भारु ३० हजार पठाईदिनु पर्ने भनेपछि श्यामले एकै छिनमा पैसा पठाइदिए ।अर्को दिन पुनः सोही नम्बरबाट रोजले ३० हजार पाउण्ड पठाएकाले भारुमा सटही गर्नुपर्ने भन्दै भारु १ लाख ५० हजार पठाउन भन्यो । नेपालबाट पैसा पठाउन नमिल्ने भएपछि उनले दुबईमा रहेका आफ्नो साथीलाई ऋण हालिदिन भन्दै उतैबाट पैसा पठाइदिन भने । उनलाई भारतीय रिर्जभ बैंकमा पैसा पुगेको भन्दै रिर्जभ बैकका तस्वीरहरु आए । यता श्याम ३० हजार पाउण्डलाई नेपाली मुल्यमा हिसाबकिताब गर्दै थिए ।

त्यसको केही दिनमा पुनः पैसा अपुग भएको भन्दै २ लाख ५० हजार भारु पठाइदिनु पर्ने म्यासेज आयो ।उनलाई पैसा पठाउन बारम्बार फोन म्यासेज आइरह्यो । पुनः २ लाख ५० हजार भारु दुबईमा रहेको साथीलाई हालिदिन लगाए । अझै पनि उनको उपहार नेपाल आएन । बरु फेरी रिर्जभ बैंकले बैंकमा ग्यारेण्टी राख्नु पर्ने भन्दै भारु ३ लाख ५० हजार, अर्को पटक भारु ६ लाख ५० हजार पठाउन म्यासेज आइरह्यो र श्यामले पैसा नेपाली करिब २५ लाख पैसा पठाए । ६ बर्ष दुवई बसेर कमाएको पैसा मात्रै होइन आफन्तसँग करिब २० लाख ऋण गरेर पठाएका थिए ।

उनलाई श्रीमतीले यसरी ठगीएको समाचार आइरहेकाले सचेत हुन नभनेकी पनि होइन तर श्यामलाई श्रीमतीको भन्दा बढी विश्वास फेसबुककी साथी रोजको थियो । करिब तीन महिनासम्म पनि उनको हातमा उपहार परेन बरु अझै पनि भारतीय रिजर्भ बैंकमा पैसा अड्किएको र यसका लागि नेपाल सरकार, भारत सरकार, युएई सरकार र बेलायत सरकारबाट स्विकृत पत्र बनाउनु पर्ने भएकाले थप १० लाख भारु पठाइदिनु पर्ने भन्दै फोन म्यासेज आइरह्यो ।साथी रोजसँग कुरा गर्दा मैले पठाएको उपहार जुनकुनै हालत लिनै पर्छ भन्ने म्यासेज आउँथ्यो ।

श्यामले रोजकै विश्वासमा १० लाख रुपैयाँ पैसा पठाउन ऋण खोज्दै थिए ।२ महिना अघि ऋण लिएका आफन्त साथीभाईले फिर्ता माग्न थालिसकेका थिए।तर रोजले पठाएको उपहार हात पर्ने छाँटकाटै थिएन ।बल्ल श्यामलाई श्रीमतीले भनेको कुरा याद भयो। फेस बुकमा बनेकी साथी रोजको सरप्राइज उपहार पाउनकै लागि उनले करिब २५ लाख विदेशीलाई पठाइसकेका थिए । अहिले उनलाई उपहार र पैसाको लागि फोन आउने ७ ओटा नम्बर बन्द छन् । सरप्राइज उपहार पठाउने उनकी साथी रोज फेसबुकमा म्यासेन्ज रमा भेटिन्नन् ।

दुबई र मेलेसियामा १० बर्ष कमाएर नेपाल फर्किएका उनी अहिले काठमाडौंमा कोठा भाडा तिर्न नसक्ने अवस्थामा छन् । मिनेट–मिनेटमा साउको फोन आउँछन् । उजुरी गर्न केन्द्रीय अनुसन्धान व्युरो सिआइबी नपुगेका होइनन् तर नेपालबाट कुनै पनि कारोबार भएको नदेखिएपछि प्रकृया अघि बढेन ।परिवारसँगै बसेर केही गर्ने सोचेर नेपाल आएका श्याम २५ लाख ऋणको भारी बोकेर फेरी विदेश जाने बाहेक विकल्प भेटेका छैनन् । श्याम एक प्रतिनिधि पात्र मात्रै हुन, फेसबुक, भाइबर, इमो, ह्वाट्सएपबाट साथी बनेर चिठ्ठा परेको, उपहार पठाएको भन्दै यसरी नै सयाैं नेपालीको करोडाैं पैसा विदेशी ठगको खल्तीमा पुग्ने गरेको छ ।

Exit mobile version