विराटनगर/ प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले समाजलाई नराम्रोसँग बिगार्ने दाइजोप्रथालाई सबैले मिलेर अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।विराट राजवंशी युवा समितिद्वारा ‘दाइजो प्रथाविरुद्ध विराट राजवंशी युवाको आवाज’मा आधारित ‘मौर’ नामक किताबको यहाँ आज विमोचन गर्दै उहाँले समाजमा विसंगतिका रुपमा रहेको दाइजोप्रथा र बाल विवाहलाई अन्त्य गर्न युवाले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । राजवंशी समाज उत्थान समितिका अध्यक्ष भुवनेश्वर मण्डल (राजवंशी), विराट राजवंशी युवा समितिका अध्यक्ष कुशेश्वर राजवंशी, समाजका अगुवा डा उद्धव पोखरेल र रतिचन राजवंशीले दाइजोप्रथा संस्कृति नभएर विसंगति भएकाले यसको उन्मूलन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।पूर्वी नेपालको सुनसरी, मोरङ र झापामा लगभग ६५ हजार सङ्ख्यामा राजवंशी समुदाय छन् भने पछिल्लो समयमा यो समुदायमा दाइजो र बालविवाह प्रचलन बढ्दै गएकाले युवा सङ्गठित हुन थालेका छन् ।शिक्षा र चेतनामूलक सन्देशसहित तीन वर्षदेखि समाजमा अभियान सञ्चालन गरिरहेका राजवंशीले युवाले ‘मौर’, ‘बाल विवाह जीवन भरको तनाव’ र गाउँ टोलटोलको आवाज दाइजो मुक्त सभ्य समाज’ नाराका साथ अभियान पनि सञ्चालन गरेको अध्यक्ष कुशेश्वरले बताउनुभयो ।
