Site icon Tukinetwork.com

राजधानीका सवालमा विराटनगर आन्दोलित

माेरङ / प्रदेश १ को स्थायी राजधानी विराटनगरसँगै कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासमा निर्माण गर्ने प्रस्ताव नेकपाले प्रदेश सभामा दर्ता गरेसँगै विराटनगरमा आन्दोलन सुरु भएको छ । सोमबार विहानैबाट सुरु भएको आन्दोलनले विराटनगर महानगरपालिका ठप्प छ । आन्दोलनका क्रममा विराटनगर महानगरपालिका क्षेत्रमा स्वतस्र्फुत रुपमा बजार, उद्योग, शिक्षण संस्था, यातायात बन्द भएका छन् । विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनुपर्ने मागसहित शान्तिपूर्ण दबाव समिति गठन गरिएको छ ।
अर्थशास्त्री डा.भेषप्रसाद धमला संयोजक रहेको समितिमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल, उद्योगी व्यवसायी, यातायात व्यवसायी, नागरिक समाज, विराटनगर महानगरपालिका, एन प्याब्सन, प्याब्सन लगायतका पदाधिकारी सदस्य रहेका छन् । समितिमा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी लगायतका नेताहरु पनि रहेका छन् । राजधानीका लागि सत्तारुढ दल नेकपाले छलफल गरे भन्दा विपरित प्रस्ताव दर्ता गराएको आरोप नेपाली कांग्रेस मोरङका सचिव एवं दबाव समितिका सह–संयोजक नागेश कोइरालाले लगाए । प्रदेश सभामा २१ सिट रहेको नेपाली कांग्रेसका सांसदहरुलाई नेकपा सरकारले बृहत्त विराट विकास क्षेत्रले विकास निर्माणमा सघाउ पु¥याउने र राजधानीको विषयमा यसको सम्बन्ध नहुने बताएर विधेयक पास गराएको आरोप कोइरालाको रहेको छ ।

‘नेपाली राजनीतिमा ऐतिहासिक महत्व बोकेको यस बिराटनगरलाई पूर्णरुपमा राजधानी नतोकिउन्जेल शान्तिपूर्ण दबाव समितिको आन्दोलन स्थगित हुने छैन,’ उनले भने । नेकपाको दुईतिहाइको दम्भमा विराटनगरलाई विकेन्द्रीकृत गर्दै अघि बढे सडक आन्दोलन थप कडा हुने र विराटनगरको विकल्पमा अन्य स्थानमा राजधानी हुननसक्ने उनको भनाइ छ ।

त्यसैगरि, विराटनगर महानगरपालिकाले समेत राजधानीका लागि ५० विगाहा जमिन उपलब्ध गराउने जनाएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले भने, ‘राजधानी जमिन अभावकै कारण सारिन लागिएको हो भने विराटनगर १९ मा महानगरले सरकारलाई ५० विगाहा जग्गा उपलब्ध गराउनेछ ।’ स्वतः स्फुर्त रुपमा सुरु भएको आन्दोलनमा होमिएका महानगरका प्रमुख पराजुलीले राजधानीका रुपमा विराटनगरबाहेकको विकल्प मान्य नहुने बताए । उनले भने, ‘बृहत विराट विकास क्षेत्रको अवधारणालाई सुरुमा विकाससँग जोडिएको थियो । उद्यपी हाल सत्तारुढ दलले कार्यपालिका, व्यवस्थापिका, राजधानी अलग अलग स्थानमा राखेर प्रस्ताव गरेपछि विराटनगबासी राजधानीका लागि स्वतस्र्फुत रुपमा आन्दोलनमा उत्रिएका छन् ।’

आन्दोलनका क्रममा मानवीय सेवाका सवारी साधन, एम्बुलेन्स, दुधजन्य पदार्थको सवारी, वारुणयन्त्र, शववाहन, विवाह, सुरक्षा निकाय र प्रेसका सवारीमा कुनै रोक नलगाइएको समितिले जनाएको छ । सिटी सफारी, मोटरसाइकलदेखि अन्य सवारी साधन भने चल्न दिइएको छैन । ठाउँठाउँका सडमा बाँस र ह्युम पाइप राखेर मोटसाइकल समेत सञ्चालन हुन दिइएको छैन । विहानैदेखि बन्दकर्ताहरु बजार र पसल बन्द गराउँदै पनि हिंडे । बन्दका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरीले जनाएको छ ।

प्रदेश १ को स्थायी राजधानीका लागि विराटनगर र धनकुटाको पक्षमा दुई÷दुईवटा प्रस्ताव आइतबार संसदमा दर्ता भएका थिए । दुई तिहाई बहुमतसहित सरकारको नेत्रृत्व गरिरहेको नेकपाले स्थायी राजधानी विराटनगरसँगै कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासमा निर्माण गर्ने प्रस्ताव दर्ता गरेसँगै राजधानीका सबै संरचना विराटनगरमै हुनु पर्ने मागसहितको आन्दोलन सुरु भएको हो ।

Exit mobile version