राजविराज / सप्तरीमा बिहीबार माटोले पुरिएर एक मजदुरको मृत्यु भएको छ। सुनसरीको इनरुवाका २६ वर्षीय अर्सद अन्सारीको माटोले पुरिएर मृत्यु भएको हो। राजविराज–६, गुदरी हटियास्थित सपिङ कम्प्लेक्स निर्माणका लागि कार्यरत अन्सारीको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ। भवनको जग निर्माणका लागि खनिएको खाल्टोभित्र सामान पन्साउदै गर्दा भित्तो भक्किएर अन्सारीलाई पुरेको प्रत्यक्षदर्शीले बताए।
गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। कम्प्लेक्स निर्माणका क्रममा यसअघि पनि एक मजदुर गम्भीर घाइते भएका थिए। रातको समयमा काम गर्दा मजदुर घाइते भएपछि निर्माण कम्पनीले लापरबाही गरेका भन्दै स्थानीयले आलोचना गरेका थिए।
५८ वर्षअघि टाउन प्लानिङ गरी बसाइएको राजविराजस्थित गुदरी हटियामा विगत एक वर्षदेखि कम्प्लेक्स निर्माणको काम चलिरहेको छ। राजविराज हटिया व्यवस्थापन र केही सहरी सडक निर्माणका लागि सहरी विकास मन्त्रालयले ३५ करोड १५ लाख रुपैयाँ छुट्याएको छ। भारतीय सीमाक्षेत्रसँग जोडिएका सदरमुकामस्थित मुलुकका २० नगरपालिकाको विकासका लागि तयार भएको सघन सहरी कार्यक्रम अन्तर्गत निर्माणको काम भइरहेको राजविराज नगरपालिकाले जनाएको छ। कुल ३ सय ८ कोठा भएको दुईतले कम्प्लेक्स निर्माणको काम रसुवा रोसन जेभी निर्माण कम्पनीले ठेक्का लिएको छ।
