मिलन केसी, काठमाडौं । विश्वभर बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहेका छन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार १३०औँ अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसैक्रममा सम्बन्धित निकाय र व्यक्तिहरुले काठमाडौं पनि विभिन्न ¥याली, कोणसभा, गोष्ठी र छलफल गरेर यो दिवस मनाइरहेका छन् । विभिन्न पेशासँग आवद्ध संघ संस्थाहरुले यो दिवस मनाइहरेका छन् ।
श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन हरेक श्रमिकको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
नेपालमा विराटनगरमा वि.सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो ।
विभिन्न कार्यक्रमका साथ दिवस मनाइरहँदा श्रमिकले न्यूनतम तलब र सामाजिक सुरक्षा पाउन सकेका छैनन् । सरकारले गएको साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम तलब १३ हजार ४ सय ५० रुपैयाँ तोकेको छ । यस्तै दैनिक ज्याला ५ सय १७ र प्रतिघण्टा ६९ रुपैयाँ तोकिएको छ । तर धेरै श्रमिकले न्यूनतम तलब पाउन सकेका छैनन् ।
