Site icon Tukinetwork.com

‘सेटिङ’ मिलाएबापत विष्णु पौडेलले बालुवाटारको जग्गा बकस पाए : नेता विश्वकर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले ‘भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओली दुर्वाशा ऋषि बनेको आरोप लगाएका छन् । मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीले खान्न भन्दाभन्दै बालुवाटार र खुल्लामञ्चकाे जग्गासमेत खाएकाे आरोप लगाएका हुन् ।नेता विश्वकर्माले भने, ‘दुर्वाशा ऋषिले खान्न भन्दाभन्दै लड्डु खाएजस्तै ओलीजी पनि सबै खानु भयो ।’ उनले भूमाफियाहरुले सबै सेटिङ मिलाए बापत नेकपाका महासचिव विष्णु पौडेललाई बालुवाटारको जग्गा बकस दिएको आराेप लगाए ।

उनले भने, ‘मैले सुनेको चाहिँ उहाँले सबै सेटिङ मिलाएकाले ८ आना जग्गा बकस पाउनु भएको हो । कसको नाममा राखौँ भनेर सोध्दा उहाँले आफ्नो नाममा राख्दा नराम्रो सन्देश जान्छ । अर्काको नाममा राख्दा सुरक्षित नहुने भएकाले छोराको नाममा राख्नु भएको हो अरे ।’यस्तै, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता देवेन्द्र पौडेलले सार्वजनिक रुपमा सरकारको स्वामित्वमा रहेको जग्गा एक टुक्रा पनि अपचलन हुन नदिने दाबी गरे । उनले बालुवाटार जग्गा प्रकरणमा महासचिव विष्णु पौडेलको नााममा बढी हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरे ।

कुनै पनि व्यक्तिले जग्गा किनबेच गर्न पाउने अधिकारअन्तर्गत नै पाैडेलले जग्गा किनेको उनले बताए ।राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष वृषेशचन्द्र लालले बालुवाटार जग्गा प्रकरणका आरोपितहरुले उन्मुक्ति पाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । मुलुकमा लुटतन्त्र, भ्रष्टाचार र आर्थिक गतिविधिको अराजकता बढ्नुको साथै माफियाहरु सक्रिय रहेको भन्दै सरकारलाई कडा रुपमा प्रस्तुत हुन उनले आग्रह गरे ।

Exit mobile version