जुम्लामा ६० हेलिप्याड बन्ने भएका छन् । प्रत्येक वडाको पायकपर्ने स्थानमा हेलिप्याड निर्माण प्रक्रिया शुरु गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार हेलिप्याड निर्माणका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ ।यहाँका एक नगरपालिकासहित सात गाउँपालिकाभित्र पर्ने ६० वडामा हेलिप्याड निर्माणको काम अघि बढेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा स्थापित प्रहरीचौकी स्थानीय तहका पदाधिकारी र स्थानीयवासीको सहमतिमा हेलिप्याडस्थल छनोट हुने काम भइरहेको छ ।” दुर्गम क्षेत्रमा कुनै पनि विपत् आउनसक्ने र महामारी फैलनसक्ने सम्भावना मध्यनजर गर्दै उद्धारकार्यलाई सहज बनाउनका लागि प्रत्येक वडामा हेलिप्याडको अवधारणा अघि बढाइएको हो ।
सहजै हेलिकप्टर अवतरण गर्न सक्नेदेखि लिएर बिरामीलाई सहजै हेलिप्याडस्थलसम्म पु¥याउन सकिने गरी स्थान छनोटको काम भइरहेको छ । कर्णालीलगायतका दुगर्म जिल्लामा अहिले सुत्केरीलाई उद्धार गर्नुपर्ने हुन्छ । बिरामी र सुत्केरीलाई मध्यनजर गर्दै हेलिकप्टरको अवधारणा अघि बढेको हो । जुम्लाका प्रत्येक वडामा हेलिप्याडस्थल छनोट र साङ्केतिक चिह्न बनाउने कार्य चलिरहेको छ ।
तिला गाउँपालिका–२ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार प्रत्येक वडामा हेलिप्याड निर्माण गर्ने कार्य भइरहेको छ । उहाँले भन्नुभयो, “हेलिप्याड निर्माण भएपछि कुनै पनि जटिल प्रकारको बिरामीलाई सुविधा सम्पन्न अस्पतालसम्म लैजान सजिलो हुनेछ । वडाले बनाएको हेलिप्याडमै हेलिकप्टर अवतरण गरेर सेवा लिन सकिने छ ।” प्रत्येक वडाका वडावासीको अनुकूलतामा हेलिप्याड बनाउन थालिएको उहाँले बताउनुभयो । यहाँका अधिकांश वडामा सडक पुग्न सकेको छैन । अहिले जटिल प्रकारका बिरामी डोको र स्ट्रेचरको भरमा अस्पताल लैजानुपर्ने बाध्यता छ । एक हप्ताभित्र हेलिप्याड भएको स्थान र निर्माण गरिएको प्रतिवेदन गृह मन्त्रालय पठाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।
