Site icon Tukinetwork.com

गोरेटो बाटो सडक स्तरोन्नतिसंगै ड्रेनको काम शुरु

धरान / पाचकन्या र विष्णु पादुका गाविस धरान उपमहानगरपालिकामा गाभिएको यतिका बर्ष भइसक्दा पनि यी क्षेत्रको विकास अझै हुन सकेको छैन । गाविसका स्थानीय वासिन्दा उपमहानगरपालिकाका बासिन्दा भए, विगतमा कर नतिरेका उनीहरुमा अहिले करको भार थोपरिएको छ । तर उनीहरुले जुन अपेक्षा गरेका थिए अपेक्षित रुपमा विकास भने हुन सकेको छैन ।

पाचकन्या गाविस र विष्णुपादुका गाविस धरान उपमहानगरपालिकामा गाभिए पनि अझै पनि यातायातको सहज पहुच पुग्न सकेको छैन । विष्णृपादुका पुग्ने बाटो कच्ची, बर्षादको समयमा धरानसग विच्छेक हुने गरेको छ भने पाचकन्याको केही स्थान पनि उस्तै हालत छ ।

यसको प्रत्यक्ष उदाहरण साविकको पाचकन्या गाविस वडा नं. ९ र हालको धरान उपमहानगरपालका वडा नं ४ लाई लिन सकिन्छ । खानपानीको अभावसंगै सडक सञ्जाल त्यस ठाउमा पुग्न नसक्दा धरानबाट बोकेरै सामान ल्याउन बाध्य थिए । तर अहिले भर्खरै सडकका ट्रयाक शुरु गरिएको छ । धरान ४ डुम्रे हुदै शिखरबास र छोटी मोरङ्गदेखि भेडेटारसम्मको करिब साढे ३ किमी बाटो स्तरोन्नति गरिदैछ । विगतमा गाउलेले गोरेटो बाटोको रुपमा प्रयोग गरिदै आएको यो सडकका सडक स्तरोन्नतिसंगै ड्रेनको काम शुरु भएको हो ।

गाउलेले डुम्रे शिखरबास छोटी मोरङ्ग सडक निर्माण उपभोक्ता समिति गठन गरेर सडक मर्मतलाई अगाडि बढाएका हुन् । विगतमा यातायातको सञ्जाल नपुग्दा कृषिजन्य सामाग्री धरानमा विक्री गरेर आवश्यक लत्ता खाद्यान्न, नुन तेल बोकेर ल्याउनुपर्ने बाध्यता रहेको धरान ४ डुम्रेका लक्ष्मण राई बताउनुुहुन्छ ।

त्यसो त संखुवासभाबाट ०६८ सालमा सुविधा सम्पन्न ठाउ भनेर बसाइसराई गरेर आउनु आएका आइतरम कुलुङ्ग सडक सञ्जाल, विजुली बत्ती लगायतका सुविधा संखुवासभा भन्दा पनि गए गुज्रेको रहेको बताउनुहुन्छ । गाउलेकै प्रयासमा सडक स्तरोन्तिसंगै ट्र्याक खोल्ने काम भएपछि भने विकास हुने अपेक्षा उहाले समेत गर्नुभएको छ ।

कोशी राजमार्गको हाइवेदेखि नजिक रहेर पनि सधै पछाडी परेको यो स्थान कोशी राजमार्गबाट शुरु भएर कोशी राजमार्गमै जोडिने भएकोले यो ठाउ भविष्यमा आकर्षक पर्यटकीय गन्तव्य स्थल हुने डुम्र्े शिखरबास छोटी मोरङ सडक निर्माण उपभोक्ता समितिका सचिव श्यामकुमार राई बताउनुहुन्छ । दुई बर्ष अगाडि धरानको निशानेमा बर्षादले कोशी राजमार्गको बाटो पहिराले भत्काएपछि वैकिल्पक बाटोकोमा रुपमा प्रयोग गरिएको यो ग्रामीण सडकका कारण भविष्यमा यहाका स्थानीयको जनजीवनमा फरक ल्याउने उहा बताउनुहुन्छ ।

३ हजार ४ सय २१ मीटर अर्थात करिब साढे तीन किमी बाटो र ड्रेन निर्माणका लागि धरान उपमहानगरपालिकाले हाललाई ५ लाख बजेट दिएको छ । २७ लाख बजेट छुट्याइएकोमा बाकी बजेट आगामी आर्थिक बर्षमा आउने सचिव राईको भनाई छ । सडक सञ्जाल र खानेपानी अभावकै कारण पाचकन्या गाविसबाट धरान उपमहानगरपालिकाकामा गाभिएको यो स्थान पहिला जस्तो थियो अहिले पनि उस्तै छ । अब धरान उपमहानगरपालिकाले यस्ता पिछडिएका स्थानहरुको विकासलाई प्राथमिकतामा राखेर अगाडि बढन जरुरी छ । गाविसबाट उपमहानगरपालिका भएका यस्ता स्थानका बासिन्दाले पनि उपमहानगरपालिकामा रहेको महसुस गराउन जरुरी छ ।

Exit mobile version