Site icon Tukinetwork.com

सामाजिक सञ्जालमा चिट्ठा पर्यो भनी ठगी गर्ने भारतीय र चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ११ वैशाखः नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले सङ्गठित रुपमा सामाजिक सञ्जालमा चिट्ठा पर्यो भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले फेसबुक, ह्वाट्सएप, भाइबर इमो लगायत सामाजिक सञ्जालको प्रयोग गरी रु ४० लाख ३९ हजार ठगी गर्ने भारत हरियाणाका ३९ वर्षीय अमित कुमार र चिनियाँ नागरिक वाङ हङछियालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक सुदीप गिरीले सामाजिक सञ्जालमार्फत चिट्ठा पर्यो भनेर विभिन्न बैंकमा पैसा जम्मा गर्न लगाउने गरेको अनुसन्धानमा खुलेको बताउनुभयो । “चिट्ठा ठगीका लागि नाइजेरियन, चिनियाँ र भारतीय नागरिकको संलग्न रहेकामा भारतीय नागरिक अमितको खातामा पैसा जम्मा गरी एकापसमा बाँडफाँट गरेर लिने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । घटनामा संलग्न दुई जनालाई पक्राउ गरे पनि नाइजेरियाली भने फरार रहेकाले खोजी भइरहेको ब्यूरोले जनाएको छ ।

Exit mobile version