Site icon Tukinetwork.com

प्रहरी बनेर विराटनगरमा लुटपाट

माेरङ / प्रहरी बनेर गएको एउटा समूहले विराटनगर महानगरपालिका–८ भलुवाईका सिंहेश्वर यादवकोव घरमा सोमबार राति लुटपाट मच्चाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएका सादा पोशाकका प्रहरी हौं र घर खानतलासी गर्नु पर्ने छ भन्दै जबरजस्ती छिरेका चार जनाले ६५ हजार रुपैयाँ लुटेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

घटनामा संलग्न मोरङको जहदा गाउँपालिका–६ का २४ वर्षीय सिमान्त करदार (मण्डल) लाई लुटपाटमा प्रयोग भएको को ३७ प ४४७२ नम्बरको मोटरसाइकलसहित सोमबार राति पक्राउ गरेको छ । घटनामा संलग्न अन्यको खोजी गर्ने क्रममा लुटपाटका मुख्य योजनाकार तथा घटनामा संलग्न विराटनगर–८ का २५ वर्षीय समिर कामतलाई मंगलबार दिउँसो बुढीगंगा गाउँपालिका–४ नेमुवाबाट पक्राउ गरिएको डीएसपी श्रेष्ठको भनाइ छ ।

उनका अनुसार घटनामा संलग्न अन्य दुई जना फरार रहेका कारण खोजी तीव्र पारिएको छ । पक्राउ परेकाहरु विरुद्ध भने मुलुकी अपराध कार्यविधी संहिता ऐन २०७४ बमोजिम म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
२०७५ कात्तिक १४ गते मोरङको कटहरी गाउँपालिका–१ का निरज भनिने दर्पण श्रेष्ठको मोबाइल तथा कात्तिक २७ गते विराटनगर–७ की चन्द्रकला बस्नेतको ब्याग भित्र रहेको ६० हजार रुपैयाँ, मोबाइल र एटिएम कार्ड लगायतका वस्तु लुटपाटको घटनामा पक्राउ परेका मध्ये समिरको संलग्नता रहेको प्रहरीले जनाएको छ । प्रहरीले मंसिर १ गते पनि पक्राउ गरेर उनी विरुद्ध मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत मोरङले २० हजार रुपैयाँ धरौटीमा छाड्न मंसिर २८ गते आदेश दिएको थियो । अदालतको आदेशबाट छुटेर पनि समिर लुटपाटका घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ ।

Exit mobile version