लहान । भन्सार छली गरी ल्याउँदै गरेको लाखौँको मोबाइलसहित एक जनालाई शनिबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
भारतमा निर्वाचन र पत्रकारहरूले मिसन बोर्डर चलाएको कारण सीमाक्षेत्रमा अवैध कारोबार केही समय तस्करीमा ह्रास आए पनि भन्सारको आँखामा छारो हालेर राजस्व छलीले निरन्तन्ता पाइरहेको छ ।
यसैक्रममा गोलबजारको चोहर्वा बस्ने प्रविन परियारले साढे तीन लाखको मोबाइल भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीका डिआइजी प्रविन श्रेष्ठको टोलीले धनगढीमाईको सोनापुर नजिकबाट बरामद गरेको हो । परियारले राजु इन्टरप्राइजेजको पान नम्बर ३०१७३३४९० मा मूल्य नतोकिएको ८५ थान मोबाइलको बिल बनाएर नक्कली कारोबारमा मोबाइल लैजाँदै गरिएको सरोकारवाला निकायको दाबी छ ।
बरामद गरिएको मालसमान र परियारलाई रिहा गर्न सांसद र प्रदेश–२ का राज्यमन्त्री सुरेश मण्डलको दबाब आइरहेको प्रहरी स्रोतको दाबी छ । केही समयता सिरहाको दक्षिण सीमावर्ती क्षेत्रमा भारतबाट कपडा, इलेक्ट्रोनिक, किराना मालसमान भन्सार छली गरी नेपाल भित्रिने गरेको छ भने नेपालबाट तेस्रो मुलुका मरिच, स्याउ, सुपारी, मदिरा चोरीलुकी सीमावर्ती प्रहरीको मिलोमतोमा निकासी भइरहेको छ । लहानका केही ठूला व्यापारी यतिवेला सप्तरीको सीमाक्षेत्रबाट अवैध मालसमान भारत निकासी गरिरहेको खुलासा भएको छ ।
