Site icon Tukinetwork.com

चट्याङसहित भिषण वर्षा शुरु भएको पाँच मिनेट नबित्दै घरबाट निस्कियो धुवाँ ,२० लाखको भयो क्षति

म्याङ्लुङ -तेह्रथुम म्याङ्लुङ नगरपालिका–२ मा चट्याङ लागेर विद्युत्सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय पदम भुजेलको घरमा आज दिउँसो २ः३० बजे अचानक लागेको आगोले करीब रु २० लाख मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

आगोले सो घरमा डेरा गरी बस्ने आठराई गाउँपालिका–२ खाम्लालुङकी दीपा लिम्बूको भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, गरगहनालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । घरमा कोही नभएका अवस्थामा आगलागी भएकाले मानवीय क्षति भने हुन नसकेको स्थानीयवासी मानबहादुर लिम्बूले बताउनुभयो ।

“चट्याङसहित भिषण वर्षा शुरु भएको पाँच मिनेट नबित्दै घरबाट धुवाँ निस्कन थाल्यो”, प्रत्यक्षदर्शी मनोज लिम्बूले भन्नुभयो । स्थानीयवासी, नेपाली सेना र प्रहरीले करीब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा लिएका थिए । सडक हिलाम्मे भएका कारण नगरपालिकाको दमकल आगलागी भएको स्थानसम्म पुग्न नसकेको चालक पूर्ण खड्काले बताउनुभयो ।

सो घरमा डेरामा बस्दै आउनुभएका लिम्बूलाई नगरपालिकाले तत्काल राहत उपलब्ध गराएको छ । अग्निपीडितलाई नगद रु पाँच हजार र १० हजार रुपैयाँ मूल्य बराबरका लत्ताकपडा प्रदान गरिएको नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङफेले बताउनुभयो । घरधनी भुजेल भने लालीगुराँस नगरपालिकाको वसन्तपुर बजारमा केही महीनायता बस्दै आउनुभएको छ ।

Exit mobile version