Site icon Tukinetwork.com

पाँचौं साफ महिला च्याम्पिसनसिप : नेपालको विजयी सुरुवात

माेरङ / नेपालले पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ३–० गोल अन्तरले स्तब्ध बनाउँदै घरेलु मैदानमा नेपालले तीन अंक प्राप्त गरेको छ । समूह चरणकै बंगलादेशसँग नेपालले आगामी चैत २ गते शनिबार प्रतिष्पर्धा गर्ने छ । भुटान विरुद्धको खेलमा विगतको इतिहासलाई जोगाउन सफल भएको नेपालको जितमा मञ्जलीकुमारी योञ्जन, सावित्रा भण्डारी र कप्तान निरु थापाले एक÷एक गोल गरे । घरेलु मैदानमा पहिलो अन्तराष्ट्रिय प्रतियोगिता खेलेको नेपालले पहिलो हाफमा दुई र मध्यान्तरपछि एक गोल गरेको थियो ।

एक पक्षिय खेलको १३ औं मिनेटमा नेपालले मञ्जलीकुमारीको गोलमार्फत अग्रता लिएको थियो । कप्तान निरु थापाले मिलाइदिएको पासमा उनले गरेको प्रहारले गोलरक्षक संगीता मङ्गरको हातमा ठोक्किंदै जाली चुमेपछि नेपालले अग्रता लिंदा भुटान दबाबमा प¥यो । थापाको नियन्त्रणमा बल रहेको अवस्थामा भुटानी खेलाडीले स्ट्राईकर सावित्रा भण्डारीलाई मात्रै मार्क गरिरहँदा मञ्जलीकुमारीले पोष्ट प्रहारको अवसर पाएकी थिइन ।

त्यसको तीन मिनेट पनि वित्न नपाउँदै स्ट्राईकर भण्डारीले गोल थपेर अग्रता दोब्बर बनाइन । १६ औं मिनेटमा दीपा राईको पासमा बललाई भण्डारीले पोष्टको दिशा दिंदा नेपालले गोल अन्तर २–० बनायो । तेस्रो गोल कप्तान निरु थापाले ५५ औं मिनेटमा गरिन् । सावित्राको हेडर बललाई निरुले फिनिसिङ टच दिंदा ३–० गोल अन्तरले नेपालको जित निश्चित भयो । खेलालाई पूरै नियन्त्रणमा लिएको नेपालले गोल गर्नका लागि पाएका धेरै अवसरलाई सदुपयोग गर्न सकेन । विगतमा भुटानसँगको खेलमा भारी गोल अन्तरले विजयी हुँदै आएको नेपाली टोलीले घरेलु मैदानमा भने त्यो अन्तरलाई कायम राख्न सकेन । उत्कृष्ट प्रदर्शन गरे पनि राम्रा फिनिसिङको अवसरले बाटो विराउँदा भुटान विरुद्धका यस अघिका खेलमा जस्तो गोल अन्तर बढ्न सकेन ।

खेल अवधिभर फितलो प्रदर्शन गरेको भुटानले एउटा पनि पोस्ट एट्याकको राम्रो अवसर बनाउन सकेन । ८४ औं मिनेटमा गेल्ली वाङ्मोले बललाई नियन्त्रणमा लिन नसक्दा भुटानले पोष्ट एट्याकको एउटा राम्रो र पहिलो अवसर पनि गुमायो । विपक्षी प्रदर्शन कमजोर हुँदा नेपालकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले ३७ औं मिनेटमा पहिलो पटक बल छुने अवसर पाएकी थिइन । निरन्तर पोष्ट एट्याकको रणनीति बुनेको नेपालकी सावित्रा ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्नबाट चुकिन् । वान भर्सेस वानको स्थितिमा उनको प्रहार सिधै भुटानी गोलरक्षकको हातमा पुगेको थियो । त्यस लगत्तै मञ्जलीकुमारीको प्रहार पनि दायाँ बार हुँदै बाहिरियो । पहिलो इन्जुरी समयमा सावित्राको पासमा अनिता बस्नेतको कडा प्रहारले विपक्षी बार भत्काउन नसक्दा नेपालले पहिलो हाफमा तेस्रो गोल गर्न सकेन ।

५७ औं मिनेटमा मञ्जलीकुमारीको पासमा निरुको हेडर बल वायाँ बार हुँदै बाहिरियो । ६८ औं मिनेटमा २५ यार्ड टाढाबाट सावित्राले गरेको प्रहारमा पनि भुटानी गोलरक्षक बाधक बनिन् । ७२ औं मिनेटमा अनिता बस्नेतको फ्रिकिक गोलरक्षककै हातमा पुग्यो । ८२ औं मिनेटमा सरु लिम्बूको प्रहारले पनि विपक्षी बार भत्काउन सकेन । त्यस लगत्तै मञ्जलीकुमारीको प्रहारले पनि पोष्टको बाटो देखेन । ८६ औं मिनेटमा अनिताकै सशक्त प्रहारलाई भुटानी गोलरक्षकले विफल बनाउँदा नेपालले खेलमा चौथो गोल गर्न सकेन । नौ वर्ष अघिबाट सुरु भएको साफ महिला च्याम्पियनसिपको पाँचौं संस्करणको पहिलो खेल सकिंदा नेपाल र भुटानको यो तेस्रो भेट हो । यस अघिका दुवै खेलमा सानदार जित हात पारेको नेपाल भुटानमाथि तेस्रो भेटमा पनि हावी बन्यो ।

पाकिस्तानमा सम्पन्न तेस्रो साफ च्याम्पियनसिपमा भुटानमाथि नेपालले ८–० गोल अन्तरको फराकिलो जित निकालेको थियो । त्यतिबेला नेपालको फराकिलो जितमा अनु लामा, दीपा अधिकारी, सजना रानाले समान दुई गोल गरेका थिए । त्यसैगरि, सावित्रा भण्डारी र मेनुका गिरीले समान एक गोल गरेका थिए । भारतमा सम्पन्न चौथो साफमा पनि नेपालले भुटानमाथि ८–० गोल अन्तरकै नतिजा निकालेको थियो । नेपालको जितमा सावित्रा भण्डारी एक्लैले ६ गोल गरेकी थिइन् । त्यसै गरी शर्मीला थापा र कृष्णा खत्रीले समान एक गोल गरेका थिए । अझ पाँचौं संस्करणमा घरेलु मैदानमा दर्शकको हौशला र चिरपरिचित मैदान भएकाले पनि नेपालले भुटानमाथि भारी गोल अन्तरले विजय हाँसिल गर्ने अपेक्षा गरिएको थियो । पहिलो र दोस्रो साफ महिला च्याम्पियनसिपमा भने नेपाल र भुटानको भेट भएको थिएन ।

भुटानका मुख्य प्रशिक्षक सङ जाइ लि ले मैदान नयाँ भएको र गर्मीले खेलाडी थाकेका कारण हार बेहोर्नु परेको बताए । ‘नेपाल बलियो टिम भएकाले पनि हामीलाई पराजयको नतिजा हात लाग्यो,’ उनले भने, ‘नेपाल आएर व्यवस्थित रुपमा सोमबार अभ्यास गर्न नपाउनु पनि हाम्रा लागि दुर्भाग्यपूर्ण बन्यो ।’ उनले होटलदेखि मैदानसम्मको व्यवस्थापन चित्त बुझ्दो नभएको गुनासो गरे । नेपालका मुख्य प्रशिक्षक हरि खड्काले भने खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि स्कोर निकाल्न नसक्दा गोल अन्तर बढाउन नसकिएको बताए । आफ्नो ४४ औं जन्म दिन मनाइरहँदा जितको नतिजा हात पारेका उनले अली बढी गर्मी भएर पनि खेलाडीले थकान महसुस गरेको बताए । थोरैमा ६ गोल गर्ने अपेक्षा लिएको भन्दै उनले पाएका धेरै अवसरलाई सदुपयोग गर्न नसक्दा गोल अन्तर पनि कम भएको बताए । आगामी दिनमा भने खेलाडीले सुधारिएको प्रदर्शन गर्ने अपेक्षा खड्काले बताए । ‘जस्तो टिम त्यस्तै खेल प्रदर्शन गरिन्छ,’ उनले भने, ‘समूह चरणमा गोल अन्तरले फरक पार्ने भएका कारण पनि आगामी दिनमा त्यसमा ध्यान दिइने छ ।’ बुधबार समूह ‘बी’ मा रहेका मालदिभ्स र प्रतियोगिताकै शक्तिसाली मानिएको भारतबीच प्रतिस्पर्धा हुने छ ।

Exit mobile version