Site icon Tukinetwork.com

साफ महिला च्याम्पिनसीपको तयारी पूरा

माेरङ / पाँचौं महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ । विराटनगरस्थित सहिद रंगशालामा यही फागुन २८ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ ।  प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सको सहभागिता रहने छ । ‘प्रतियोगिता आयोजनाका लागि भौतिक संरचना निर्माणदेखि सबै तयारी पूरा भइसकेको छ,’ अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले भने, ‘प्राविधिक विषयको तयारीमा हामी जुटेका छौं ।’ उनका अनुसार तयारी अवस्थामा राखिएको रंगशालाको अन्तिम सरसफाई भइरहेको छ । रंगशालाको प्यारापिट र शौचालय लगायतका संरचना महिला तथा पुरुष मैत्री बनाइएको जानकारी राईले दिए । विराटनगरमा १० हजार दर्शक क्षमताको प्यारापिट तयार भइसकेको उनको भनाइ छ ।

प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक समेत रहेका राईका अनुसार मैदान, शौचालय, मञ्च समेतको व्यवस्थापनको काम सकिएको छ । ‘रंगशालासम्म पुग्ने सडक पनि तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘पूर्वाधारका हिसावले प्रतियोगिता आयोजना गर्न अन्तर्राष्ट्रिय मापदण्ड पूरा भइसकेको छ ।’ राईले विदेश पाहुना, खेलाडी र अफिसियलका लागि विराटनगरमा पाँचवटा होटल बुक गरिसकिएको जानकारी दिए । खेलाडी र अफिसियलसहित दुई सय विदेश पाहुना विराटनगर आउने उनले बताए ।
प्रतियोगिता उद्धघाटनका दिननै आयोजक मुलुक नेपालसँग प्रतिष्पर्धा गर्ने भुटानी टोली काठमाडौं आइसकेको छ । अन्य देशबाट टोली आउने क्रममा रहेको र सोमबार विहानसम्ममा सबै देशबाट प्रतियोगितामा सहभागीता जाउने टोली आइसक्ने राईले बताए ।

सुरक्षा व्यवस्था कडा, मदिरा बिक्री र सेवनमा कडाई

पहिलो पटक विराटनगरमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।  प्रतियोगिता मिति नजिकिंदै जाँदा सुरक्षा व्यवस्था मजवुत बनाइएको हो । एन्फाले पनि आन्तरिक हिसावको सुरक्षा व्यवस्था मिलाएको छ । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी सुरक्षाका लागि खटाउने तयारी छ । खेलाडी र अफिसिय तथा पाहुनाहरुलाई बसेका होटलबाट खेल मैदानसम्म सुरक्षाका लागि स्कर्टिङको व्यवस्था गरिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले अन्तर्राष्ट्रिय प्रतियोगिता भएका कारण अन्य बेलाको भन्दा विशेष सुरक्षा व्यवस्था अपनाइने बताए । ‘प्रतियोगिताका लागि विशिष्ट खालको सुरक्षा रणनीति तयार पारिएको छ,’ उनले भने, ‘सुरक्षामा कुनै कमजोरी आउन नदिन विराटनगर र आसपासका ठाउँमा निगरानी बढाइएको छ ।’ सुरक्षामा कुनै कमजोरी भएमा त्यसले नेपालकै छवि विगार्ने विषयमा पनि सुरक्षा निकाय संवेदनशील रहेको केसीको भनाइ छ । विशिष्ट र अत्याधुनिक प्रविधिको प्रयोग गरेर सुरक्षा व्यवस्था मिलाइने जानकारी उनले दिए ।

केसीले रुटको सुरक्षादेखि लिएर खेलाडी, अफिसिय, पाहुनाहरु बस्ने स्थान तथा खेलाडी टोलीले आवश्यक अभ्यास गर्ने स्थानसम्मको सुरक्षामा ख्याल पु¥याइएको जानकारी दिए । ‘विशेष गरेर प्रतियोगिता आयोजनास्थल र स्टेडियमको सुरक्षामा ध्यान दिएका छौं,’ उनले भने,‘राजमार्ग र सहायक मार्गहरुमा सुरक्षाकर्मीको विशेष टोली खटाएर सुरक्षा निगरानी बढाइएको छ ।’

एसपी केसीले प्रतियोगितालाई लक्षित गरेर प्रतियोगिता उद्धघाटन स्थल र आसपासमा घरेलु मदिरा बिक्रीमा पूर्ण रुपमा रोक लगाइएको बताए । प्रहरीले प्रतियोगिता अवधिभर खेलस्थल आसपास अवैध रुपमा घरमै उत्पादन गरिने मदिरा बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउँदै निगरानी बढाउन थालेको हो । घरेलु मदिरा विक्री र सेवनमा प्रतिबन्ध लगाउनकै लागि प्रहरीको विशेष टोली खटाइसकिएको केसीले बताए । घरेलु प्रकृतिको मदिराहरुको बिक्री हुने स्थानको पहिचान गरेर नियमन गर्ने काम थालिएको छ ।

सहिद रंगशाला आसपासका होटल, हाटखोला, देवकोटा चौक, घोघापुल चौक, तीनपैनी समेतका स्थानमा सञ्चालनमा रहेका होेलमा बिक्रीका लागि राखिने अवैध मदिरा नियन्त्रणमा लिन थालिने उनको भनाइ छ । ‘अवैध रुपमा उत्पादन हुने विषाक्त घरेलु मदिराले मानव स्वास्थ्यमा पनि असर गर्छ,’ केसीले भने, ‘प्रतियोगिता स्थल नजिकका ३० बढी होटलहरुलाई उच्च निगरानीमा राखिएको छ ।’ प्रहरीले प्रतियोगिता संचालन अवधिमा प्रतिबन्धित मदिरा बिक्री वितरण गर्नेलाई पनि नियन्त्रणमा लिएर कारवाही अघि बढाइने एसपी केसीको भनाइ छ ।

अवैध रुपमा बिक्रीका लागि राखिने घरेलु मदिरा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए । उनका अनुसार प्रतियोगितामा भाग लिनका लागि विभिन्न देशबाट समेत खेलाडी र खेल हेर्नका लागि दर्शकहरु आउने भएका कारण मदिरा बिक्री र सेवन गर्नेहरुका कारण उनीहरुमा कुनै पनि असर नपरोस भन्ने उदेश्य हो । घरेलु मदिराले निम्त्याउने अपराधिक गतिविधी नियन्त्रण गर्दै सुरक्षित तवरबाट साफ महिला च्याम्पियनसीप सम्पन्न गराउन प्रहरीले सक्रियता बढाएको जानकारी केसीले दिए । ‘खेलकुद, खेलाडी र दर्शकमा मदिरा विक्री र सेवनका कारण कुनै पनि असर नपरोस भनेर प्रहरी चनाखो भएको छ,’ उनले भने, ‘घरेलु मदिरा बिक्री गर्न कानुनले नै रोक लगाएको अवस्थामा त्यस्ता मदिराको प्रयोगले निम्त्याउने कुनै पनि अपराध नभईकन प्रतियोगिता सम्पन्न होस भन्ने चाहना सबैको छ ।’

एन्फाले समेत प्रहरीलाई आवश्यक सुरक्षाको व्यवस्था मिलाएर खेलस्थल वरपर सबै खालका अवान्छित र अपराधिक गतिविधी हुनबाट रोक लगाउन आग्रह गरिसकेको छ । एसपी केसीले ट्राफिक व्यवस्थापनको काम पनि भइरहेको बताए ।

साफका लागि नेपाली टोली शतप्रतिशत तयार

विराटनगरमा हुने पाचौं साफ महिला च्याम्पिन्सीप फुटबल प्रतियोगिताका लागि नेपाली टोली शतप्रतिशत तयार रहेको मुख्य प्रशिक्षक हरि खड्काले बताएका छन् ।
विराटनगरमा अभ्यासका क्रममा टोलीका मुख्य प्रशिक्षक खड्काले उपाधि उचाल्ने दाउमा रहेको सन्तुलित टोलीलाई घरेलु मैदानको फाइदा हुने विश्वास पनि लिएका छन् । केही समय अघि भारतमा आयोजित हिरो गोल्डकपमा उपविजेतामा चित्त बुझाएको नेपाली टोली साफका लागि पूर्ण रुपमा तयार रहेको उनले भनाइ छ । ‘हाम्रो टोली मानसिक र शारीरिक दुवैतर्फबाट प्रतिस्पर्धाका लागि तयार छ । उपाधि लक्ष्यलाई पूरा गर्न घरेलु मैदानमा दर्शकका समर्थनले झन हौशला प्रदान गर्ने छ,’ उनले भने ।
गोर्खालीपन र भिड्न सक्ने टोलीको शैलीलाई मैदानमा कायम राख्ने बताउँदै प्रशिक्षक खड्काले सेमिफाइनल पुग्नका लागि पहिले लिगको दुई खेल खेल्न भुटान र बंङलादेशविरुद्ध रणनीति बनाइरहेको जानकारी दिए । उनका अनुसार नेपाली टोली सुरुवाती दुईखेलपछि अंक हेर्दै भारतको विषयमा केन्द्रीत हुने छ । अभ्यासका क्रममा टोलीको नेतृत्व गरिरहेकी कप्तान निरु थापाले पनि घरेलु मैदानमा शतप्रतिशत नतिजा दिन आफूहरु तयार रहेको बताइन । मैदानको तयारीलाई लिएर हर्षित थापाले साफको विगतका तितो अनुभवलाई विर्सदै यसपटक इतिहास रच्नेतर्फ टोली केन्द्रीत रहेको बताइन । मेहनत गरे अनुसारको फलको अपेक्षा गर्दै गरेकी उनले टोली पूर्णरुपमा तयार रहेको दाबी गरिन् ।

नेपालले समूह चरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समान ५ खेलमा हारको सामना गर्नु परेको छैन । पछिल्लो ५ खेलमा बंगलादेशसँग ४ खेलमा जित र एकमा बराबरीको अवस्था नेपाल रहेको छ । भुटानविरुद्ध पछिल्लो ५ खेलमा जितको अनुभव नेपाली टोलीसँग रहेको छ । नेपाली टोलीले विराटनगरको डीपीएस स्कुलको मैदानमा अभ्यास गरिरहेको छ ।

प्रतियोगितामा सहभागी भारत, बगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सको टोली भोली बेलुकासम्म विराटनगर आइसक्ने साफ तयारीका संयोजक एवं एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङले जानकारी दिए । यही फागुन २८ गतेबाट विराटनगरको सहिद रंगशालामा सुरु हुने साफ महिला च्याम्पियनसीप चैत ८ गतेसम्म सञ्चालन हुने छ । ९ वर्षअघि बाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ भने चिरप्रतिद्धन्दी भारतले चारैपटक उपाधि हात पारेको छ । बंगलादेश गत यस प्रतियोगिताको चौथो संस्करणको उपविजेता टिम हो । पाकिस्तानले यस पटक प्रतियोगितामा सहभागिता नजाउने भएको छ ।


Exit mobile version