इनरुवा / १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले सुनसरीमा निर्माण हुने नेपाल प्रहरीको ब्यारेक भवनको शिलान्यास गरेका छन् ।जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय दुहवीमा निर्माण हुने भवन, ब्यारेक भवन, शौचालय तथा सोकफिट निर्माणको लागि डीआइजी रिजालले आइतबार एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नेपाल सरकारको नियमित बजेट बाट निर्माणधिन हुने प्रहरी कार्यालय सुनसरीको विभिन्न भवन ६ करोड ७० लाख १३ हजार ६ सय ९२ रुपैयाँको लागतमा आगामी २०७६ माघ २१ गतेसम्म निर्माण गर्ने गरी गौरी पार्वती-कोशी एन्ड न्यौपाने जे.भी. काठमाडौंले सम्झौता गरेको छ ।
यसैगरी ईलाका प्रहरी कार्यालय दुहवीको ब्यारेक भवन तथा भान्सा घरको भवनको निमार्णको लागि गितान्जली जोसिला जे.भी.बिराटनगर नामक निर्माण कम्पनीसंग सम्झौता भएको छ । ईलाका प्रहरी कार्यालय दुहबीको ब्यारेक भवन तथा भान्सा घर लगायतका भवन निमार्णको लागि १ करोड ८३ लाख ५८ हजार ४ सय ९५ रुपैयाँ लागतमा नेपाल सरकारको नियमित बजेटबाट भवन निमार्ण कार्य २०७६ साल असोज १८ गतेसम्म सम्पन्न गर्ने गरी गितान्जली जोसिला जे.भी. संग सम्झौता गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
।
१ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) केदार रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको शिलान्यास कार्यक्रममा सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारी , इनरुवा नगरपालिकाका उपमेयर जमुना गौतम पोखरेल, सुरक्षा निकायका प्रमुखहरु,राजनैतिक दलका प्रतिनिधि, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत निर्माणधिन रहेका प्रहरी चौकीहरुको काम अन्तिम चरणमा पुगेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी चौकी चिरौली, चान्दबेला प्रहरी चौकी र औराबनी प्रहरी चौकी निर्माणको कार्य भैरहेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी चौकी चिरौलीको ९० प्रतिशत कार्य सम्पन्न भएको छ भने झ्याल ढोका र वारिङ गर्ने तथा खाल्डो भर्ने काम मात्र बाकी छ । यस्तै १ नम्बर प्रदेश सरकार मार्फत रहेका ४ वटा प्रहरी इकाईहरु यसै आर्थिक वर्षमा निर्माण हुने प्रक्रियामा रहेको सुनसरी प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय देवानगन्ज, ईलाका प्रहरी कार्यालय सितागन्ज, प्रहरी चौकी प्रकाशपुर र प्रहरी चौकी सिंगिया यहीँ आर्थिक वर्षमा निर्माण हुने प्रक्रियामा रहेका छन् । साथै Department for international development (DFID) को सहयोगमा प्रहरी चौकी डुम्राहा पनि पनि यसै आर्थिक वर्षमा निर्माण हुने प्रक्रियामा रहेको छ ।
