गोरखा,५ फागुन । भूकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माणबाहेकको काम अघि बढ्न सकेको छैन् । पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो ।
पुनःनिर्माणको काम शुरु भएदेखि अहिलेसम्म पटक–पटक कहिले कामदारको अभाव त कहिले सामान दुवानीको समस्यालगायतका कारण देखाउँदै काम रोकिने गरेको छ । “अहिलेसम्म दरबारको जगबाहेक अरु काम अघि बढेको छैन”, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भन्नुभयो, “अब केही दिनमा काठको थाम राख्ने काम शुरु हुन्छ भनेका छन् ।”अहिले दरबारका लागि नापअनुसारको काठ अभाव भएको जानकारी आफूलाई ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उहाँले जानकारी दिनुभयो ।
