दमौली,१ फागुन । तनहुँको दमौलीमा निर्माण हुने खेलमैदानका लागि व्यास नगरपालिकाले रु २५ लाख थप बजेट विनियोजन गरेको छ ।गत आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको नगरपालिकाले मङ्गलबार सम्पन्न चौथो नगरसभाबाट थप रु २५ लाख बजेट विनियोजन गरेको हो । नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यवस्थित र सुविधासम्पन्न रङ्गशाला निर्माणका लागि नगरपालिकाको तर्फबाट बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । विपी वनवाटिकाको मैदानलाई रङ्गशाला बनाउन नगरपालिका र अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० बीच सम्झौता भइसकेको छ ।
उहाँका अनुसार रङ्गशालामा प्याराफिट र ड्रेसिङ रुमको निर्माण तत्कालै थालिनेछ । नगरपालिकाले गत वर्ष रु दश लाखको लागतमा मैदान सम्याउने काम गरेको थियो । सहमतिअनुसार एन्फाले खेलमैदानमा तारबारसहित अन्य संरचना बनाउनेछ । एन्फाको गोल प्रोजेक्टअन्तर्गत खेलमैदानको सुधारका लागि रु पाँच लाख सहयोग भएको छ ।
