Site icon Tukinetwork.com

बेपत्ता भएको सासू–बुहारीमा बुहारी आज मृत फेला सासू भने अझै बेपत्ता

काठमाडौँ,१५ कात्तिक । बैतडीमा सासू–बुहारी बेपत्ता भएकोमा बुहारी आज मृत फेला परेकी छन् भने सासू अझै बेपत्ता रहेकी छन् ।मृतक दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउँगाउँकी ३० वर्षीया निर्मला भट्ट रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले बताए । बेपत्ता हुनेमा मृतक निर्मलाकी सासू ५२ वर्षीया पार्वती भट्ट रहेकी छन् ।

बुधबार घाँस काट्न भनेर घरबाट निस्केकी निर्मला साँझसम्म पनि घर नर्फकिँदा सासू पार्वती खोजतलास गर्न जाँदा पार्वतीसमेत बेपत्ता भएकी प्रहरीले जनाएको छ ।दुवै रातिसम्म पनि घर नफर्किएपछि घरपरिवारका अन्य सदस्य खोजतलास गर्दा निर्मला बिहीबार बिहान स्थानीय ओडीगाउँ जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

निर्मलाकी सासू पार्वती अहिलेसम्म पनि बेपत्ता रहेकी छन् । बेपत्ता पार्वतीको खोजीका लागि प्रहरी चौकी खोचलेकबाट प्रहरी सहायक निरीक्षक श्यामसिंह महराको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ । घटना रहस्यमय रहेकाले थप अनुसन्धान अगाडि  बढाइएको छ ।

Exit mobile version