Site icon Tukinetwork.com

धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढे सँगै पर्यटकहरुको पनि घुइचो

पोखरा । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् ।प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष९पितृ पक्ष० का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार हुने विश्वासले देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्छन् ।

मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्छ । तीर्थालुलाई लक्ष्य गरी पोखरा विमानस्थलबाट समिट र तारा एयरलायन्सले दैनिक पाँच÷पाँच उडान गरिरहेको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिनुभयो ।

यात्रुको चाप हेरी एयरलायन्सले छ–सात पटकसम्म उडान गर्ने गरेको जानकारी दिँदै उहाँले सिम्रिक र तारा एयरलायन्सले पनि हेलिकप्टरबाट सेवा सञ्चालन गरेको बताउनुभयो ।पोखरा हुँदै मुक्तिनाथको रानीपौवासम्मको बाटो कालोपत्रे भएका कारण स्थलमार्गबाट मन्दिर पुग्न पनि निकै सहज भएको छ ।

मन्दिरको दर्शन र भ्रमणमा आउने भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै होटलको सङ्ख्या, सुविधा र लगानी पनि बढेको छ । रानीपौवास्थित होटल ग्राण्ड साम्बालाका सञ्चालक सुरज गुरुङका अनुसार रानीपौवामा पर्यटकलाई लक्षित २२ होटेल सञ्चालनमा आएका छन् ।

त्यस्तै झारकोटमा दुई र खिङ्गा गाउँमा तीन होटेल सञ्चालनमा रहेको उहाँले जानकारी दिनुभयो । सामान्यतः एक दिनमा दुई हजार स्वदेशी एवं विदेशी पर्यटक राख्न सक्ने गरी यहाँका होटेलको क्षमता विस्तार गरिएकोे छ ।पाँच वर्षअघिसम्म मुक्तिनाथ जाने भक्तजन धर्मशाला र स्थानीयवासीका घरमा बास बस्न बाध्य हुनुपरेकामा होटेलको विस्तारले उक्त बाध्यता हटेको छ ।

धेरै तीर्थयात्री जोमसोममा पनि बस्छन् । स्रोह्रश्राद्ध शुरु भएयता होटेलमा दिनप्रतिदिन तीर्थालुको चाप बढेको जोमसोमस्थित मुस्ताङ हेरिटेज होटलका सञ्चालक राजेश भट्टचनले जानकारी दिनुभयो । अर्का हाइट डेजर्ट होटेलका सञ्चालक टसी गुरुङले पनि तीर्थयात्रीको बढ्दो चापले यतिखेर व्यावसायीलाई भ्याइनभ्याइ भएको बताउनुभयो

होटेलमा बढ्दो यात्रुको चापलाई लक्ष्य गरी त्यहीअनुरुप सेवा प्रवाह गरिएकोे रानीपौवास्थित युरिका इन होटेलका सञ्चालक सुजन तुलाचनले जानकारी दिनुभयो ।पोखरा, काठमाडाँै, चितवनलगायत शहरका होटल सरहका सुविधा यहाँका होटलमा पाइनाका साथै कोठाबाटै हिमाल र मनोरम भूबनोट अवलोकन गर्न सकिन्छ ।

बेनी–जोमसोम–मुक्तिनाथ सडक सञ्चालन भएसंँगै नेपाली र भारतीय तीर्थालुको बाह्रैमास आवागमन हुन थालेको बताउँदै मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले पितृ पक्षका समयमा भने मन्दिरमा दैनिक पाँच सयदेखि एक हजारसम्म तीर्थालु आउने गरेकोे जानकारी दिनुभयो ।

जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको उक्त मन्दिर समुद्र सतहबाट तीन हजार ७०० मिटर उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडाँै, सुनौली, बेनी र मालढुङ्गाबाट सवारी साधन पाइन्छन् । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पुण्यभूमि मानिन्छ । विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती छ ।

ती १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै यहाँ रहेको मुक्तिनाथस्थलमा विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मन्दिरमा ब्राह्मण पुजारी तथा झुमाले पनि पूजा गर्छन् । हिन्दूले भगवान् विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्बीले तान्त्रिक सिद्ध गुरु रिञ्पोछेसँग जोडेर यस स्थललाई हेर्ने गर्छन् ।

Exit mobile version