Site icon Tukinetwork.com

अफ्रिकाको राजधानी प्रिटोरियामा सिंहका दुई बच्चा कृत्रिम गर्भाधानबाट जन्माइयो

काठमाडौँ । दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा बाहिर रहेको संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ । तर यी बच्चाहरु विशिष्ट किसिमका छन् ।

“यी बच्चाहरु कृत्रिम गर्भाधानबाट जन्माइएका हुन् । विश्वमै यो पहिलो प्रयोग हो,” प्रिटोरिया विश्वविद्यालयले घोषणा गरेको छ । यो विश्वविद्यालयका वैज्ञानिकहरु पोथी अफ्रिकी सिंहको प्रजनन प्रणालीबारे अध्ययन गरिरहेका छन् ।

सिंहले गत अगस्ट २५ मा दुईवटा बच्चा जन्मायो, एउटा भाले र अर्को पोथी । तिनीहरु दुवै स्वस्थ र सामान्य छन्, विश्वविद्यालयका अनुसन्धान निर्देशक आन्द्रे ग्यान्सविन्टले जानकारी दिएका छन। उनको टोलीलाई १८ महिनाको गहन परीक्षणपछि यस्तो सफलता प्राप्त भएको हो ।

“हामीले शुरुमा स्वस्थ सिंहबाट विर्य सङ्कलन गरेका थियौं,” ग्यान्सविन्टले बताए । त्यसपछि पोथी सिंह गर्भाधानका लागि योग्य भएपछि कृत्रिम रुपबाट गर्भाधान गराइएको थियो । “भाग्यवस, यो सफल भयो,” ग्यान्सविन्टले भने, “विगतमा पनि धेरैपटक प्रयत्न गरिएका थिए, तर यस पटक आश्चर्य भयो, धेरै मिहिनेत गर्नु परेन ।”

उनले यो सफलतालाई विस्तार गर्न सकिने जनाएका छन। वैज्ञानिकहरुले यो विधिलाई प्रयोग गरी अन्य सङ्कटापन्न बाघ, सिंह, चितुवाजस्ता प्राणीको संरक्षण गर्न सकिने बताएका छन् ।

अफ्रिकाका २६ वटा मुलुकबाट सिंह बिलुप्त भइसकेका छन् र सिंहको संख्या दुई दशकभित्रै करिब ४३ प्रतिशतले घटेको छ । अहिले विश्वभर करिब २० हजार मात्र सिंह बाँकी रहेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ । संघले अफ्रिकी सिंह सबैभन्दा जोखिममा रहेको बताएको छ ।

“हामीले अहिल्यै केही गरेनौं भने यहाँका सिंह बिलुप्त हुन्छन्,” ग्यान्सविन्टले सुनाए ।उनले सिंहलाई नै एक ठाउँबाट अर्को ठाउँमा प्रजननका लागि लैजानु पर्ने अवस्थाको अब अन्त्य भएको जनाएका छन ।

नयाँ प्रविधिको प्रयोग मार्फत अब सिंहको विर्यमात्र एक ठाउँबाट अर्को ठाउँमा लगे पुग्ने अवस्था सिर्जना भएको छ । उत्तरी अमेरिका र युरोपमा समेत हात्तीको प्रजनन गराउन यस्तै प्रविधि प्रयोगमा आउन थालिसकेको छ ।सिंहमाथिको यो परीक्षण राजधानी प्रिटोरियाभन्दा करिब ८० किलोमिटर उत्तरपश्चिमको उकुटुला संरक्षण केन्द्रमा गरिएको थियो ।

तर जीवजन्तुका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले यो अनुसन्धानप्रति त्यति चासो दिएका छैनन् । “दक्षिण अफ्रिकी यो प्रविधिले नाफामुखी प्रवृत्ति निम्त्याउने खतरा देखिन्छ,” बोर्न फ्री फाउन्डेसनका मार्क जोन्स बताउन्छन ।

“यो विधिले सिंह जन्माउने, सिंहको शिकार खेल्ने तथा सिंहका हाडखोरको व्यापार हुने मात्र हो, र यसले सिंहको संरक्षणमा केही पनि योगदान दिँदैन,” उनले सुनाए।

अठार वटा अन्तर्राष्ट्रिय तथा अफ्रिकी संरक्षण संस्थाहरुले वैज्ञानिकहरुलाई एक पत्र लेखी अध्ययनप्रति विमती जनाएका छन् । एजेन्सी

Exit mobile version