नुवाकोट । देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र । विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने आशंका उब्जिएको छ ।
भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनःनिर्माणमा सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएको सम्पदाहरु पनि नाश हुन थालेको छ । भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरवारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो ।
भूकम्पले भत्काएको बेलामा खासै क्षति नभएको संरचना पनि भूकम्पपछिको चार बर्खामा स्याहार्न नसक्दा भत्किँदै गएको विदुर नपा २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताउनुभयो । “भूकम्पछि तत्काल नेपाल सरकारले चासो दिएर भएको सम्पदा जोगाउन मात्र ध्यान दिएको भए अहिलेको जति क्षति हुने थिएन,” वडाध्यक्ष शाहीले भन्नुभयो – “भूकम्पले जीर्ण बनेको सम्पदालाई जोगाउन चासो नदिँदा वर्षात्को पानीले भत्कायो ।”

