Site icon Tukinetwork.com

खल्तीमा खानी : घुमाउरो बाटोबाट लाइसेन्स बिक्री

व्यक्ति वा कम्पनीका नाममा देशभर खानी कब्जा गर्ने र दर्ता गरी मोटो रकममा बेचबिखन गर्ने होडबाजी चलेको छ । खानी पत्ता लाग्नेबित्तिकै कब्जा गर्ने रणनीतिअनुसार माफिया शैलीमा राजनीतिक दलका नेता, तिनका आसेपासे, भ्रष्ट कर्मचारीदेखि स्थानीय गुन्डासमेत सक्रिय भएका छन्। कतिपयले व्यक्तिका नाममा खानी दर्ता गरी कब्जा गरेका छन् भने कतिपयले कम्पनी खोलेर दर्ता गरेका छन् ।

अधिकांशले खानी दर्ता गरी खल्तीमा राखेर बिक्री खुला गरेका छन् । सके सेयर लिएर खानी चलाउने नसके बेचेर मोटो रकम लिने शैलीमा उनीहरू बिक्रीका लागि बिचौलिया लिएर हिँडिरहेका छन्।

खानी सञ्चालन गर्ने वित्तीय र प्राविधिक कुनै क्षमता नभएकासमेतको नाममा खानी दर्ता हुनुले यस क्षेत्रमा नीतिगत र आर्थिक भ्रष्टाचार मौलाएको छ । खानी तथा भूगर्भ विभाग स्रोतका अनुसार कानुनी तरिकाले खानी कब्जा गर्न जिम्मेवार भनिएका राजनीतिक दलका नेतादेखि उच्च सरकारी कर्मचारीसमेत सक्रिय भएका छन्।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–७५ सम्ममा २६ वटा भिन्न खनिज निकाल्न चार सय ८४ स्थानमा अनुमति दिइएको छ । जसमध्ये एक सय २४ वटा सञ्चालनमा छन् भने बाँकी ३६० ले खनिज खोजीका लागि भन्दै लाइसेन्स लिएर बसेका छन् । लाइसेन्स लिएकामध्ये दुई सय २१ वटा व्यक्तिका नाममा छन् । जसमध्ये २१ वटा मात्र सञ्चालनमा छन् । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

Exit mobile version