Site icon Tukinetwork.com

गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ

काठमाडौँ, २८ असार । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले विहिबार लामालाई काठमाडौंबाट पक्राउ गरेको हो ।

लामालाई लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा परिसरले तीब्र रूपमा खोजी रहेको थियो । नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।

बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न सत्यमानमाथि गत वर्ष काभ्रेमा किसानको माला लुटपाट गरेको समेत आरोप लागेको थियो । उनी यसअघि रक्तचन्दन तस्करीमा समेत मुछिएका थिए ।

पछिल्लो समय प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै दावा लामाले भने काठमाडौं छाडेका छन् । दावा काठमाडौं छाडेर भारतको सिक्कीममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइएको छ ।

उनी बिरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्की दिएर लुटपाट गरेको उजुरी समेत परेको काठमाडौं प्रहरीले जनाएको छ । थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

Exit mobile version