खेलकुद

विश्वकप फुटबलमा बुधबार हुने चार खेलहरूः

रूस – रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा बुधबार पनि (आज) ४ खेलहरू हुँदैछन्।

समूह चरण तेस्रो तथा अन्तिम राउन्ड अन्तर्गत आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेका जर्मनी र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्दैछन्। खेल कजान एरिना रंगशालामा नेपाली समयअनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ।

यो समूहमा मेक्सिको ६ अंकका साथ शीर्ष स्थानमा छ भने जर्मनी र स्विडेनको समान ३–३ अंक छ। कोरियाको भने अघिल्लो चरणको सम्भावना न्यून छ। ३ वटा राष्ट्रमध्ये २ राष्ट्र अघिल्लो चरणमा प्रवेश गर्नेछन्। यही समूहमा रहेको साविक विजेता जर्मनीलाई अघिल्लो चरणमा प्रवेश गर्न जितेर मात्र पुग्दैन अरु खेलमा पनि निर्भर हुनुपर्नेछ।

जर्मनी उद्घाटन खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो भने दोस्रो खेलमा स्विडेनविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको थियो। कोरिया पहिलो खेलमा स्विडेनसँग १–० र दोस्रो खेलमा मेक्सिकोसँग २–१ ले स्तब्ध भएको थियो।

आजै हुने दोस्रो खेलमा बेलुका ७ः४५ मा समुह एफकै मेक्सिको र स्विडेन भिड्नेछन्। सो खेल इकाटेरिनबर्ग एरिना रंगशालामा हुनेछ। यो खेलमा मेक्सिको विजयी भए वा बराबरीमा रोकिएपनि समूह विजेता बन्नेछ। तर पराजित भए अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।

त्यस्तै निज्नी नोभगोरोड रंगशालामा हुने अर्को खेलमा राती ११ः४५ मा समूह ‘इ’ का स्विट्जरल्याण्ड र कोस्टारिका आमने सामने हुनेछन्। कोस्टारिका प्रतियोगिताबाट बाहिरिसकेको छ भने अघिल्लो चरणमा प्रवेश गर्न स्विट्जरल्याण्डलाई यो खेल जित्नैपर्ने दबाब छ।

यो समूहमा ब्राजिल र स्विट्जरल्याण्डको ४–४ अंक भएपनि गोलअन्तरका आधारमा ब्राजिल अगाडि छ। स्विट्जरल्याण्ड पहिलो खेलमा ब्राजिलसँग १–१ को बराबरीमा रोकिदा दोस्रो खेलमा सर्बियालाई २–१ ले पराजित गरेको थियो। कोस्टारिका भने पहिलो खेलमा सर्बियासँग १–० र दोस्रो खेलमा ब्राजिलसँग २–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

यता ११ः४५ मै स्पार्टक रंगशाला मस्कोमा हुने आजको अर्को खेलमा ब्राजिल र सर्बिया खेल्दैछन्। अन्तिम १६ मा प्रवेश गर्न दुवै टोलीलाई जित आवश्यक छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *