खेलकुद

नेमारमाथिको ‘फाउल’ले बनायो रेकर्ड !

ब्राजिल र स्विट्जरल्यान्डबीच विश्वकप २०१८ समूह ‘इ’ को खेलमा ब्राजिलले जित निकाल्ने सबैको अनुमान थियो । सो खेलमा नेमारको गोल र खेल दुवै हेर्नलायकको हुनेछ भन्ने धेरैको अनुमान थियो ।

तर, युरोपियन देश स्विट्जरल्यान्डको मनस्थिति अर्कै देखियो । स्विट्जरल्यान्ड न त खेल ब्राजिललाई सुम्पिन तयार थियो, न त आफूविरुद्ध नेमारलाई चम्किने मौका दिन नैे । त्यसका लागि उसले निरन्तर नेइमारलाई निशाना बनाइरह्यो ।

काउटिन्होको सानदार गोलको मद्दतले अग्रता लिएको ब्राजिलका समर्थक नेमारको गोल हेर्न लालायित थिए । तर, जब नेमारको खुट्टामा बल पथ्र्यो स्विट्जरल्यान्डका खेलाडी उनलाई घेरेर, लडाएर बल खोसिसक्थे ।

त्यसका बाबजुद पनि नेमारले केही हेर्नलायक सट प्रहार गरे । केही प्रहार पोष्ट नजिकैबाट बाहिरिए भने अन्यलाई किपरले विफल बनाई दिए ।

नेमारमाथि निरन्तर ‘फाउल’ भएपछि क्यामेराम्यानले बारम्बार विपक्षीको बुट र बुटमा भएका गोटीको प्रहारले नेमारका प्वाल परेका मोजामा फोकस गरेर मैदानमा भएको ठूलो डिस्प्लेमा देखाइरहेका थिए । तर, मेक्सिकन रेफ्रि सेजर रामोसले कुनै एक्सन लिन रुचि देखाएनन् ।

सो खेलमा स्विट्जरल्यान्डका तीन खेलाडीले पहेँलो कार्ड पाए । ती सबै कार्ड नेमारविरुद्ध गरिएका ‘फाउल’ लागि दिइएको थियो । खेलअवधिभर स्विट्जरल्यान्डका खेलाडीले नेमारमाथि कूल १० पटक ‘फाउल’ गरे ।

तथ्यांकमा हेर्दा विश्वकपको एक खेलमा कुनै एउटा खेलाडीमाथि ‘फाउल’ गरिएको यो दोस्रो धेरैपटक हो ।

सर्वाधिक ‘फाउल’ ११ पटक
सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा एउटा खेलमा कुनै एक खेलाडीमाथि सबैभन्दा धेरै ‘फाउल’ भएको रेकर्ड बनेको थियो ।

ट्युनिसियाविरुद्धको खेलमा इंग्ल्यान्डका एलन शेररमाथि सर्वाधिक ‘फाउल’ भएको थियो । सो खेलमा ट्युनिसियाका खेलाडीले उनलाई ११ पटक ‘फाउल’ गरिएको थियो ।

न्यूक्यासल युनाइटेडका सर्वाधिक गोलकर्ता शेररकै गोलले अग्रता लिएको इंग्ल्यान्डले पल स्कोल्सको अर्को गोलको मद्धतमा २–० ले जितेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *