Site icon Tukinetwork.com

चलचित्र पत्रकारलाई सम्मान र पुरस्कार

चलचित्र पत्रकार संघले नयाँ पत्रिकाकर्मी लक्ष्मण सुवेदीलाई चलचित्र पत्रकारिता पुरस्कार–०७५ प्रदान गरेको छ । संघले१९औँ स्थापना दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सुवेदीलाई नगद २१ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र प्रदान गरेको हो । विगत १७ वर्षदेखि चलचित्र पत्रकारितामा रहेका सुवेदी नयाँ पत्रिका दैनिकमा उपसम्पादकका रूपमा कार्यरत छन् ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संघले टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ । त्यसैगरी, चलचित्र पत्रकारितामा अनवरत योगदान पु-याएबापत ध्रुव लम्साल र दयाराम पाण्डेलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरियो । चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार भने फिल्मीखबर डटकममा कार्यरत अञ्जान दाहाल ‘मनीष’ले पाए । अञ्जानलाई पुरस्कारस्वरूप एक थान ल्यापटप, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । सञ्चार राज्यमन्त्री बाँस्कोटाले चलचित्र पत्रकारिताको विकासमा पत्रकारले गरिरहेको योगदानको चर्चा गरे । उनले पत्रकारलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

संघका अध्यक्ष सन्दीप सापकोटाले चलचित्र पत्रकारको हकहित, पेसागत सुरक्षा तथा स्तरोन्नतिमा संघ क्रियाशील रहेको बताए । संघका संस्थापक अध्यक्ष भरत शाक्यले चलचित्र पत्रकारिताको विकासका लागि स्वयम् चलचित्र पत्रकार नै जिम्मेवार हुनुपर्नेमा जोड दिए । संघले जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ । त्यसैगरी, चलचित्र पत्रकार संघ, मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा सोमबारै हेटाैँडामा एक कार्यक्रम आयोजना गरी राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्रीलाई नगद ११ हजार एक सय ११ सहित राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–०७५ र जनता टेलिभिजनमा कार्यरत रामकुमार एलनलाई ५ हजार राशिको चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

Exit mobile version