Site icon Tukinetwork.com

पचास–पचास प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति भएको छैन : नेता खनाल

पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन्।

विराटनगर विमानस्थलमा शनिबार अपराह्न सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने हो अरु बाँकी सबै सञ्चारमाध्यमको हल्लामात्र भएको प्रष्ट पारे ।

पार्टीका वरिष्ठ नेता खनालले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरु संगठनमा आपसी समझदारी चयन गर्ने बताए ।

उनले दुवै पार्टीबीचको आपसी एकता प्रक्रिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी वैशाख ९ गते पार्टी एकीकरणको मितिसमेत नसर्ने प्रष्ट पारे ।

नेता खनालले दलको एकीकरण सम्बन्धमा राजनीतिक र सांगठनिक प्रतिवेदन तयार रहेको र प्रतिवेदन जनयुद्ध सम्बन्धमा सकारात्मक रहको छ भने ।

एक प्रश्नको जवाफमा उनले सचिव सरुवा सम्बन्धमा केही कार्य गर्दा कोही पनि कहिले पनि पूर्ण सन्तुष्टि हुँदैन भन्दै असन्तुष्टबाट नै राम्रो कामको शुरुवात हुन्छ भने ।

नेता खनालले वाम गठबन्धन सरकार भर्खरै निर्माण भएको छ भन्दै जनताले अनुभूति गर्ने विकास र मुलुकको आर्थिक समृद्धिमा सरकारले दु्रत गतिबाट कार्य गर्ने विश्वास व्यक्त गरे ।

Exit mobile version