काठमाडौं, २६ चैत । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रधानमन्त्री केपी ओली तयार नभएसम्म सरकारमा सहभागी नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले संविधान संशोधनको सुनिश्चिता विना सरकारमा सहभागी नहुने बताए ।
अध्यक्ष यादवले भने, ‘संविधान संशोधन गर्ने हो भने हात मिलाउन तयार छौं, होइन भने प्रतिपक्षमै बस्ने छौं ।’ प्रधानमन्त्री ओलीले संविधान संशोधनप्रति नरम भाषा बोले पनि संघीय फोरमसँग सो विषयमा लिखित प्रतिवद्धता जनाइ सकेका छैनन् ।
प्रधानमन्त्री ओलीको भारत भ्रमण सकिएपछि फोरमलाई सरकारमा लैजाने तयारी भईरहेको सत्तापक्षीय नेताहरूले बताउँदै आएका छन् ।
अध्यक्ष यादवले तत्काल सरकारमा जाने संभावना कम रहेको संकेत गरेका छन् । उनले भने, ‘संविधान संशोधन विना सरकारमा जान हामीलाई हतार पनि छैन, खाँचो पनि छैन ।’

